पोखरा / त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई ७ विकेटले हराएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र करण केसीको उत्कृष्ट बलिङमा नेपालले सहज जित हासिल गरेको हो ।
मुलपानी क्रिकेट मैदानमा जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । रोहितले मोहम्मद जवादुल्लाहलाई अन्तिम बलमा चौका हान्दै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।
चौथो विकेटका लागि दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए । नेपालको सुरुवात भने त्यति राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल १४ बलमा १ चौकासहित १४ रनमा आउट भए ।
स्पिनर निलान्श केश्वानीको बलमा कुशल अली नासिरबाट क्याच आउट हुन पुगेका थिए । कुशल मल्ल ९ बलमा २ चौकासहित ११ रनमा रन आउट भए ।
अली नासिरको बलमा आसिफ शेख २३ रनमा आउट भए । आसिफले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन ।
त्यस्तै युवा अलराउन्डर अली नासिरले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनको योगदान दिएका थिए । कमजोर सुरुवात गरेपनि पाँचौं विकेटका लागि बासिल हमिद र अली नासिरले ५६ रनको साझेदारी गर्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेका थिए ।
नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल भोली हङकङसँग खेल्नेछ ।





