पोखरा/ त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहिबार हङकङलाई ६ विकेटले हराउँदै नेपालले आफ्नो जितको यात्रालाई कायम राखेको हो ।
९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा ग¥यो । नेपालका लागि आसिफ शेखले उत्कृष्ट पारी खेल्दै ४२ रनको योगदान दिदैँ क्याचआउट हुन पुगे । उनले ३४ बलमा ६ चौका प्रहार गरे ।
कप्तान रोहि पौडेल २५ रनमा नटआउट रहे । उनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे । गुल्सन झा १४ रनमा नटआउट रहे । उनले ५ बलमा २ छक्का प्रहार गरे ।
ओपनर कुशल भुर्तेल ८ रनमा बोल्ड आउट भए । उनले ८ बलमा १ चौका प्रहार गरे । कुशल मल्ल १ रनमा र सन्दिप जोरा ३ रनमा आउट भए ।
हङकङका लागि इशान खानले ४ ओभरमा १० रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यासिम मुर्ताजाले १ विकेट लिए । त्यसअघि टस हारेर मुलपानी क्रिकेट मैदानमा ब्याटिङको निम्तो पाएको हङकङ ९४ रनमा अलआउट हुन पुग्यो ।
हङकङका यासिम मुर्ताजाले ३६ रनको योगदान दिनुबाहेक अन्य खेलाडीले गतिलो रन बनाउन सकेनन् । उनले ३६ बलमा २ चौका र एक छक्का प्रहार गरे ।
हङकङको सुरुवात नै खराव रह्यो । ओपनर तथा टिम कप्तान निजाकाता खान शुन्यमै बोल्डआउट भए । आनस्या राथ ७ रनमा, बाबर हायात ५, मार्टिन कोइतजे २, आईजाज २, जिसान अलि १७, अदित गोरावारा ८, हारुन अर्साद २, इशान खान ४ रनमा आउट भए । आयुष सुक्लाले २ रन बनाए ।
नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए । ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिएका हुन् । यस्तै सोमपाल कामी र अभिनाष बोहोराले २÷२ तथा कुशल मल्ल र मौसम ढकालले १÷१ विकेट लिए । जितसंगै नेपाल ४ अंकका साथ शीर्षस्थानमा फाइनल प्रवेश गरेको छ । अब हङकङ र युएई बीचको खेलले फाइनलको प्रतिद्धन्द्धी निर्धारण गर्नेछ ।





