बागलुङ/ अघिल्लो साता नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी समितिको बैठक ढोरपाटनमा बस्यो । बैठकमा सहभागि हुन ५० बढी व्यवसायी र उद्योगी ढोरपाटन पुगे ।
काठमाण्डौंको चिल्ला सडकमा गुडेका उद्योगी व्यपारीले बुर्तिवाङ सम्मको खाल्डाखुल्डी परेको मध्यपहाडी लोकमार्ग र ढोरपाटन सम्मको कच्ची सडकको यात्रा गरे । कतिपयले काठमाण्डौबाटै बाटोको समस्या र खानेबस्ने होटलको कमी छ भन्ने जिज्ञाशा राखेका थिए । बागलुङ उद्योग बाणिज्य संघले आतित्थ्यता गरेको र केन्द्रीय अध्यक्ष चन्द्र ढकाल बागलुङकै भएकोले ढोरपाटनमा बैठक बस्ने निधो भएको थियो ।
ढोरपाटन पुगेपछि रमणीय भएपनि धेरैजसोले सडकमा भने सास्ती खेपेका थिए । बुर्तिवाङ पुगेर कतिपयले ४ हिल गाडि समेत लिएर गएको बताए । ढोरपाटन पुग्ने सडकमा अहिले पनि सास्ती छ । त्यसैले व्यवसायीले ९ बुँदे घोषणापत्रमा ढोरपाटनको बिकासमा योगदान गर्ने बिषय मात्रै उल्लेख छ । राम्रो होटल बनाउने देखि सडक, खानेपानी र एकीकृत बस्ती बिकास गर्ने तथा सडक बिस्तारका लागि महासंघले सहकार्य गर्ने निष्कर्ष निकालेको हो । बिकासको धिमा गतिकै कारण सहकार्य गर्ने गरी घोषणापत्र आएको बैठकका सहभागि तथा बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले बताए ।
आब २०६६/६७ मा उत्तर दक्षिण जोड्ने आयोजनाको रुपम सालझण्डी ढोरपाटन सडक आयोजना निर्माण शुरु भएको थियो । तर अहिलेसम्म अलपत्र जस्तै छ । ९ अर्ब लागत स्टिमेट गरिएको १ सय ९७ किमी सडकको अहिलेसम्म ३० प्रतिशत मात्र प्रगती भएको आयोजनाका सूचना अधिकारी इन्जिनियर सरद आचार्यले बताए । अहिले सम्म यो सडकमा ३ अर्ब ३० करोड खर्च भएको छ । तीन बर्षअघि बुर्तिवाङदेखि ढोरपाटनको फलेघर सम्मको सडक ग्राभेल गर्न २५ करोड रुपैयाँको ठेक्का लिएको स्वच्छन्द ओमबुद्ध संयुक्त निर्माण कंपनीले दुइ बर्षमा २५ प्रतिशत मात्रै काम गरेको छ ।
‘धेरै ताकेता गर्दापनि काम भएको छैन’ आचार्यले भने, ‘सडक नबन्दा यात्रीले सास्ती खेप्नु परेको छ ।’ आयोजनाको लगानी रुपन्देही, अर्घाखाँची र गुल्मीसम्म मात्र आइपुगेको छ । यो सडकको रुपन्देहीमा ५ र अर्घाखाचीमा १२ किमी गरी १८ किमी मात्रै कालोपत्रे भएको हो । बागलुङको बुर्तिवाङदेखि ढोरपाटनसम्मको ३६ किमी खण्ड अझै पनि जोखिम मोलेर हिड्नुपर्ने अबस्थाको छ ।
तीन वर्षअघि ढोरपाटनको पहिरोले यहाँका १ सय २६ घर बगे । सडक समेत बगायो । पीडितहरुले घर बनाउन सकेका छैनन् । जिल्ला प्रशासनको तथ्यांक अनुसार १८ जना पीडितले दोश्रो किस्ता लगेका छन् भने ८५ घरले पहिलो किस्ता स्वरुप ५० हजार मात्र लगेका छन् । त्यो पनि प्रशासनले फिर्ता ल्याउने तयारी गरेको छ ।
आरक्षमा सयौं पर्यटक घुम्न गए पनि स्तरीय होटल छैनन् । प्रहरी चौकी नहुँदा सुरक्षा अनुभूति नभएको पर्यटकको गुनासो छ । स्तरीय होटल र खानपिन नहुँदा कतिपयले ढोरपाटनको उपत्यका हेरेर मात्रै फर्कन्छन् । ‘संसारकै गन्तव्य बनाउन सकिन्छ, तर राज्यको लगानी छैन, स्थानीय तहको लगानीले ढोरपाटनको बिकास संभव छैन,’ नगरपालिकाका कावा प्रमुख धनबहादुर कायतले भने, ‘संघको एकमुष्ट लगानी भएमा ढोरपाटनले राज्यलाई फेरि करोडौं तिर्नसक्छ ।’ मध्यबर्ती क्षेत्रबारे सबैपालिकासंग छलफल गर्ने उनले बताए ।





