बागलुङ/ बागलुङको जैमिनी नगरपालिका– २ दमेकको पोखराचौरमा दशैंको अघिल्लो दिन युवाहरु बीच भएको झगडामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराचौर खेलकुद क्लवले आयोजना गरेको कार्यक्रम समापनमा जैमिनी नगरपालिकाका दुई वडाका युवाहरुका बीचमा झडप भएको थियो ।
झडपका क्रममा चार जना घाईते भएका थिए । जैमिनी नगरपालिका–२ दमेक र वडा नं. ९ पैञ्युथन्थापका युवाहरु बीच आपसी भनाभन हुँदा झडप भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको भन्दै प्रहरीले दुवै वडाका १२ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
घाईते भएका जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका डवल राना, दिपु थापा र महेन्द्र थापाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको छ । सोही अस्पतालमा उपचार गराईरहेका दिपु राना भने अस्पतालबाट डिस्चार्ज भएका छन् । ‘आईसियुमा उपचार गराईरहेका घाईतेहरुले पनि हिजोदेखि बोल्ने र खाने गर्नुभएको छ’ प्रहरी नायव उपरीक्षक मदन केसीले भने ‘घाईतेको अबस्था समान्य बन्दै गएको अस्पतालको रिपोट छ ।’
घटना लगत्तै जैमिनी नगरपालिका–२ का २७ बर्षिय सुनिल परियार, ३५ बर्षिय कल बहादुर थापा र २६ बर्षिय अनिल परियारलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको थियो । उनीहरुसँगको बयानका आधारमा थप नौ जना पक्राउ परेको केसीले बताए । ‘वडाका प्रतिनिधि र स्थानीयको बीचमा सोधपुछ गरेर पक्राउ गर्ने र घटनाको बिषयमा थप बुझ्ने काम भैरहेको छ’ केसीले भने ‘दोशी ठहरिएपछि हामि सार्वजनिक गछौं ।’ स्थानीयका अनुसार युवाहरुको दुई समुहका बीचमा खुकुरी हानाहान भएको थियो । घाईहरुको टाउको, खुट्टा र शरिरका बिभिन्न भागमा चोट लागेको छ ।





