बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

असला जोगाउन जलचर संरक्षण नीति

असला जोगाउन जलचर संरक्षण नीति


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

बागलुङ/करेन्ट लगाएर माछा मार्नेहरु बढेपछि गलकोट नगरपालिकाले दरमखोलाको असला जोगाउने तयारी गरेको छ । ‘जलचर संरक्षण नीति’ मार्फत् असला जोगाउन लागिएको हो ।

देश विदेशमा दरमखोलाको असलाको चर्चा हुने गर्छ । तर अवैधानिक रुपमा मार्नेहरुबाट असला लोप हुने खतरा बढेपछि नगरपालिकाले कात्तिकसम्मका लागि मार्न रोक लगाएको हो । त्यसपछि भने नीति अनुसार बनाइएको कार्यविधिमा रहेर माछा मार्न पाउने व्यवस्था गरिएको प्रशासकीय अधिकृत तुलबहादुर बिकले बताए ।

उक्त नीति अनुसार विपन्न र बेरोजगार तथा परम्परागत रुपमा पेशा अङ्गालेका नागरिकलाई मात्र माछा मार्न दिइने छ । ‘करेन्ट लगाएर वा विष हालेर माछा मार्न नदिने नीति बनाएका हौं,’ प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले भने, ‘दरमखोलाको अस्तित्व जोगाउन पनि हामीले केही समय रोक लगाएका हौं ।’ भुजेल यसै साता अनिवार्य अवकाश भएका छन् । कार्यविधि अनुसार तोकिएका समुदाय र व्यक्तिले मात्र माछा मार्न पाउने भएपछि उनीहरुले नै संरक्षण पनि गर्ने भुजेलले बताए ।

देशविदेशमा समेत प्रसिद्ध भएको दरमखोलाको असला लोप भएमा गलकोट क्षेत्रको अस्तित्वमै संकट आउने भएकोले यस्तो नीति लिनुपरेको सामाजिक विकास समितिका अध्यक्ष हिमबहादुर भण्डारीले बताए । गलकोट नगरपालिकाको बीच भागमा बग्ने दरमखोला असलाको खानी हो । गीत–कविता लेख्नेले पनि दरमखोला र असलाको बखान गर्छन् । तर, पछिल्लो समय चोरी तस्करीको रुपमा माछा बाहिर जाने, स्थानीयले देख्नसमेत नपाउने अवस्था आएको थियो । खोलामा बिष हालेर माछा मार्दा असलाको प्रजाति नै नष्ट हुने खतरा देखेपछि नगरपालिकाले संरक्षण नीति ल्याएको हो ।

माछा मात्र हैन, विष हाल्दा र करेन्ट लगाउँदा सबै जलचरको जीवन समेत नष्ट हुने गरेको नगर उपप्रमुख फमलार निउरेले बताए । ‘दरमखोलाको अस्तित्व जोगाउन माछा पनि संरक्षण हुनुपर्छ,’ उपप्रमुख निउरेले भने, ‘देश बिदेशमा चासो रहने दरमखोला र माछा जोगाउनु पर्छ । भएन भने गलकोट नगरको अस्तित्व पनि संकटमा पर्छ ।’ दरमखोलाले गलकोटको हजारौं हेक्टर जमिन समेत सिंचाइ गरेको छ ।दरमखोलामा जलविद्युत आयोजनासमेत निर्माणाधीन छन् ।

पछिल्लो समय खोलामै फोहोर फालेर माछा उत्पादन घटेको थियो । त्यसपछि नगरपालिकाले फोहोर संकलन र खोला नदी सफाइ अभियान चलायो । अहिले नगरको कुहिने र नकुहिने फोहोर संकलन केन्द्र बनेको छ । त्यसले पनि जलचर संरक्षणमा पहल भएको भुजेल बताउँछन् । हरिचौर, हटिया, मल्म, काँडेवास र बडिगाड गाउँपालिकाको खरवाङ बजार सम्मनै दरमखोला बगेको छ । ती बजारको सौन्दर्यका लागि पनि दरमखोला सहयोगी बनेको छ । दरमखोलाको माछा भनेपछि प्रतिकेजी एक हजार ५ सय सम्म बिक्री हुने गरेको छ । सुकुटी बनाएर बेच्दा प्रतिकेजी ६ हजार ५ सय रुपैयाँसम्म पर्ने स्थानीय व्यवसायी कौशिला घर्तीले बताइन् । देशबिदेशका ग्राहकले स्थानीय होटल संचालकलाई माछा अर्डर गर्छन् । नगरपालिकाले अब भने माछाको कारोवार गरेबापत सानो भएपनि कर प्रणालीमा जोड्ने तयारी गरेको छ ।

दरम र गौंदीमा अन्य जातका पनि माछा पाइन्छन् । तर धेरैको रोजाइ असला हो भन्छन् स्थानीय टंकबहादुर केसी । ‘बाबुबाजेका पालादेखि नै दरमका असला भन्ने भनाइ प्रसिद्ध थियो,’ केसीले भने, ‘यो इतिहास पनि हो, संरक्षण गर्नुपर्छ ।’ नगरपालिकाले नीति बनाएकोमा खुसी भएको उनले बताए । असला जोगाउनकै लागि नगरपालिकाले फोहोर संकलन केन्द्र बनाएर कुहिने र नकुहिने फोहोरको व्यवस्थापन गरेको हो । ‘खोलामा प्लाष्टिक जन्य बस्तु फालियो भने माछा नष्ट हुन्छन्’ केसीले भने, ‘बोतल र प्लाष्टिक खोलामा नफाल्दा माछा उत्पादन बढ्छ ।’ गैरकानूनी रुपमा माछा मार्नेलाई कारवाही गर्न पनि उनले सुझाए । करेन्ट लगाएर माछा मार्दा मानिसको ज्यानसमेत गएका उदाहरण उनले सुनाए ।

नदी र खोला संरक्षणको अभियान चलेपछि गलकोटमा पोखरी बनाएर माछा पाल्ने लहर पनि चलेको छ । ‘अहिले गलकोटमा तीन दर्जनबढी पोखरीमा माछा पाल्नेहरु छन्,’वडा नंं १ का बमबहादुर गुरुङले भने, ‘माछा यो क्षेत्रको पानीले स्वादिलो भएको हो, त्यसैले पोखरीमा पाल्दा पनि ब्राण्ड जोगाउन सकिन्छ ।’ उनले वर्षमा ४ लाख सम्मको माछा बेचेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->