बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

साढे २ महिना फरार डिपो प्रमुख दास ५ लाख धरौटीमा रिहा

साढे २ महिना फरार डिपो प्रमुख दास ५ लाख धरौटीमा रिहा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

पोखरा / नेपाल आलय निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका तत्कालीन डिपो प्रमुख चित्तरञ्जन दासलाई जिल्ला अदालत कास्कीले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

निगमको प्रादेशिक कार्यालय गगनगौंडा डिपोमा भएको तेल अपचलन घटनाका मुख्य आरोपित तत्कालीन डिपो प्रमुख दासलाई आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश ऋषिराम आचार्यको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

उनलाई रु.५ लाख धरौटीमा छाड्न आदेश दिएको अदालतका शाखा अधिकृत रामबहादुर किसानले जानकारी दिए । दास एक दिन पनि हिरासत नबसी आइतबार नै रु.५ लाख धरौटी बुझाएर रिहा भएका छन् । उनी गत साउन २५ गतेदेखि फरार थिए ।

उनी विरुद्ध गत साउन ३० गते जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएसंगै फरार रहेका उनी आइतबार थुनछेक बहसमा सहभागी भएका थिए ।

यसअघि इन्धन अपचलनमा संलग्न पेट्रोल पम्प व्यवसायी बाबुराम जमरकट्टेलसहित ३ जनालाई धरौटीमा रिहा भइसकेका छन् । व्यवसायी जमरकट्टेलसहित गण्डकी(धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसनका कार्यालय सचिव जगन्नाथ ढुङ्गाना र ट्याङ्कर चालक निर्मल थापा धरौटीमा छुटेका हुन् ।

ट्याङ्कर धनीसमेत रहेका जमरकट्टेल १ लाख ५० हजार, ढुङ्गाना १ लाख र चालक थापा ७५ हजार धरौटीमा छुटेका थिए । गत साउन २५ गते डिजेलको पैसा तिरेर निस्केको ट्याङ्कर लाही जिल्ला प्रशासन कार्यालय, कास्कीको अनुगमन टोलीले नियन्त्रणमा लिई जाँच गर्दा १५ हजार २ सय लिटर डिजेल फेला परेको थियो ।

तोकिएभन्दा ३ हजार २ सय लिटर बढी डिजेल अपचलन गरेको घटनामा प्रहरीले विस्तृत अध्ययन गरी आलय निगमको तत्कालीन डिपो प्रमुख चित्त रञ्जन दाससहित तिन जनालाई कारबाहीका लागि मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन दिएको थियो ।

सरकारी वकिलको कार्यालयले अदालतमा डिपो प्रमुख दासलाई कम्तीमा ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना माग दाबी गरी मुद्दा दायर गरेको थियो । अन्य ३ जना व्यवसायीलाई जनही ३ वर्ष जेल सजाय वा ३० हजार जरिवाना वा दुवै सजायको माग दाबी गरी मुद्दा दायर गरिएको थियो ।

निगमको डिपोबाट डिजेल लोड गरी पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग२ख ८३६ नम्बरको ट्याङ्कर कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरेको आदेशमा नियन्त्रणमा लिएको थियो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->