बागलुङ/ज्ञानोदय बुद्ध बिहार बागलुङ र महिला बौद्ध संघ बागलुङको आयोजनामा सोमबार बागलुङमा महान कठीन चिवर दान कार्यक्रम सम्पन्न भएको छ ।
लामो समयसम्म कठिन ब्रत तथा वर्षबास बसेका भन्ते भिक्षुहरुलाई दान दिइएको हो । दानका लागि अष्ठमाया शाक्य र पूर्णमाया शाक्यले लगानी गरेको शाक्य समाजका अगुवा विकास शाक्यले बताए । बिशेषगरी असार शुल्क पूर्णिमा देखि कोजाग्रत पूर्णिमा सम्म ब्रत बसेर वर्षामास गरेका भन्ते भिक्षुहरुलाई दान दिने चलनलाई ज्ञानोदय बुद्ध बिहारले निरन्तरता दिएको हो । बिहारमा आएका ५ जना भन्तेहरुलाई दान दिनुको साथै बौद्धमार्गीहरुले सोमबार प्रभातफेरी र भजनकृतनसमेत गरेका थिए ।
विशेषगरी बौद्धमार्गीले दान दिने, बुद्धका उपदेश देशविदेशमा फैलाउने र ज्ञानको बाटोमा हिँड्न सिकाउने गर्छन् । सोमबारको प्रभाफेरीमा भने बौद्धमार्गीलाई अन्य समुदायले पनि साथ दिएका थिए । ‘कठिन काम गरेर ब्रत बसेकाहरुलाई दान दिने भएकोले नाम समेत महान, कठिन चिबर दान भनिएको हो,’ शाक्यले भने, ‘बिहारमा चौथो पटक यो दान दिइएको हो ।’ समय अनुसार अन्य बिहारमा पनि यस्ता क्रियाकलाप हुने गर्छन् ।





