बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बस्ती पातलो हुँदा घर घरमै पस्छ चितुवा

बस्ती पातलो हुँदा घर घरमै पस्छ चितुवा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८०, बिहिबार

बागलुङ/ गाउँमा घरहरु रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँटहरु कुकाठले भरिएर जंगल बनेको छ । बस्ती नजिकका पाखाहरु केही बर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरी गाईबस्तु चरेकै कारण जंगल हुनबाट पाखाहरु जोगिएका थिए । आजभोजी फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखाहरुमा जंगल भरिएको छ ।

दश बर्षअघिसम्म बस्तीको नजिक नदेखिने जंगली जनावर आजभोली बागलुङका ग्रामिण बस्तीका घर घरमै देखिन थालेका छन् । जंगली जनावर बस्ती नजिक मात्रै पुगेका होईनन् एकाद घरमा ती जनावरहरुले क्षती समेत पु¥याउन थालेका छन् ।
जिल्लाको दक्षिण जैमिनी नगरपालिका–१ कुश्मीशेराकी चन्द्रमा शर्माको गोठमा चार दिनअघि चितुवा पस्यो । साँझकै समयमा घरदेखी केही परको जंगलमा कराईरहेको चितुवा रातको समयमा गोठमा पसेन् मात्रै खोरमा थुनेका बाख्रालाई आक्रमण गर्यो ।

चन्द्रमाले एक बर्षअघि दश हजार रुपैयाँ तिरेर ल्याएको माउ बाख्रो चितुवाले खोरबाट निकालेर चार कान्ला मुनी पु¥यायो । पातलो गाउँमा छिमेकी निस्केर धपाउँदा धपाउँदै घाँटीमा घाउ बनाएर रगत चुसेको अबस्थामा बाख्रो चितुवाको मुखबाट खोसियो । तर एक दिनभन्दा बाख्रो बाँचेन् ।

गाउँ छेउका पल्लो पाखार सामुदायीक बन र जलुके तारेभीर सामुदायीक वनमा चितुवा कराउन छोडेको छैन् । दिनभर गाउँमा बाँदरको आतंक छ । रात परेपछि चितुवा कराउँदै घर घरै आईपुग्छ । ‘पहिला वनमा चराउन लगेका बाख्रा चितुवाले खान्थ्यो घरमै पसेको कमै सुनिन्थ्यो’ शर्माले भनिन् ‘छ महिना पहिला बनाएको नयाँ खोरका फलिया फालेर बाख्रो उडायो, पाठा घाईते छन् ।’

उनको बाख्रो खाएको एक दिन पछि उनकै छिमेकमा बाँदर धपाउन पालेको गुरुप्रसाद आचार्यको कुकुर चितुवाले खायो । गोठकै छेउको खोरमा थुनेको कुकुर रातको समयमा चितुवा पसेर खाएको आचार्यले बताए । ‘गाउँ पातालो छ, मान्छेभन्दा जंगली जनावर धेरै हुन थाले’ आचार्यले भने ‘गरिखान नसकिने अबस्था आयो, बालीनाली बाँदरले खान्छ, पशु पाले बाघलाई, कसरी बस्नु गाउँमा ।’

बसाईसराईले बस्ती पातलो हुनु, जंगलमा आहाराको कमी हुनु र नजिकमा रहेको निकुञ्जमा मध्यवर्ती क्षेत्र नहुनु लगायतका कारणले जंगली जनावर गाउँ पस्न थालेको डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरद अधिकारीले बताए । ‘मूख्यगरी जंगलमा आहारा नभएपछि मात्रै जंगली जनावर जोखिम मोलेर गाउँ पस्छन्’ अधिकारी भन्छन् ‘बागलुङमा शिकार आरक्ष छ, तर वफर जोन छैन्, आरक्षबाट बाहिर निस्केका जनावर बस्तिसम्म पुगेको हुनसक्छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->