बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ठेकेदारले भुक्तानी नपाएपछि सडकको काम अलपत्र

ठेकेदारले भुक्तानी नपाएपछि सडकको काम अलपत्र

गलकोटको मल्मदेखि पाण्डवखानी जाने सडक, मुस्ताङ र म्याग्दी लगायतका जिल्लाका ठूला योजनामा पनि बजेट कटौती भएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८०, बिहिबार

बागलुङ/ ठेकेदारले काम नगरेर यो सडक अलपत्र भयो । यो भवन रोकियो, यो काम नभएको हो भन्ने धेरै आयोजना भेटिन्छन् । तर केही आयोजना यस्ता छन्, ती आयोजनामा ठेकेदारले पाउनु पर्ने करोडौं भुक्तानी नभएपछि कामदार नपाएर अलपत्र परेका छन् ।

त्यस्तै मध्येको एक हो अदालत चौपारीदेखि सिगाना जाने सडक । यहाँको १० किमी खण्ड निर्माण गरिरहेको ठेकेदार कम्पनीले भुक्तानी नपाएपछि मजदुरलाई ज्याला दिन नसकेर काम अलपत्र परेको छ । गत असार मसान्त अघिको झण्डै साँढे ३ करोड भुक्तानी लिन
नपाएपछि निर्माण कम्पनीले काम छाडेर हिंडेको हो । कामको भुक्तानी चालुबर्ष पनि नपाउने भएपछि कामै छाडेर हिंडनुपरेको ठेकेदार कम्पनी ‘कर्ण बिल्डर्स’का साइट इन्चार्ज सुदीप श्रेष्ठले बताए ।

कम्पनीले ठेक्का सम्झौता गरेको ९ महिनासम्म एकडेढ सय कामदार राखेर धमाधम काम गरेकोमा भुक्तानी रोकिएपछि काम छाडेको हो । शुरुवातमा दर्जनौं उपकरण प्रयोग गरेर काम गरेकोमा अहिले यो सडक खण्डको काम ठप्पै छ । अदालत चौपारीदेखि सिगाना, चापाखर्क, गाजादह, बरेङहुँदै शान्तिपुर जाने सडकसहित ४ ठूला पूर्वाधारका योजनामा अघिल्लो बर्षको भुक्तानी समेत भएको छैन । चालुबर्षको बजेट समेत आएको छैन ।

ठेकेदार कम्पनीले गत आर्थिक बर्षको मात्रै साँढे ३ करोड भुक्तानी नपाएको हो । ‘काम पनि राम्रो गरेको थियो, समय अघिनै सकिने संभावना थियो’ सडक डिभिजन कार्यालय बागलुङका लेखा अधिकृत रामनाथ शर्माले भने, ‘चालु बर्ष भुक्तानी दिने पैसा छैन ।’ २९ करोड ३५ लाखमा ठेक्का सम्झौता भएको यो सडक निर्माणका लागि ठेकेदारले अहिलेसम्म १२ करोड ५० लाख मात्रै लगेको उनले बताए ।

इन्जिनियर किरण पोखरेलले चालु बर्षको बजेटमा पनि दायित्व तिर्न नसकिने भएपछि ठेकेदार कम्पनीलाई ताकेता गर्न नसकेको बताए । चालुबर्ष यो सडकका लागि १ करोड रुपैयाँ मात्र बिनियोजन भएको छ । उक्त रकम पुरै भुक्तानी गर्दापनि ठेकेदारलाई २ करोड ५० लाख तिर्नुपर्ने हुन्छ । श्रेष्ठका अनुसार कुल १० किमी सडकको स्ट्रक्चरको ८० प्रतिशत काम सकिएको छ । घुम्तीहरु ढलान भएका छन् । काम थालेको ९ महिनामा झण्डै २० करोडको काम सकिएको थियो । आगामी २०८१ को फागुनसम्म म्याद भएपनि रकम पाएको भए एक बर्ष अघिनै काम सक्ने लक्ष तुहिएको हो ।

बजेट अभावले बागलुङकै रामरेखादेखि म्याग्दीको रत्नेचौर जाने बागलुङ–बेनी सडक पनि अलपत्र भएको छ । ठेकेदार कम्पनी गजेन्द्र नयाँबाटो संयुक्त निर्माण सेवाले पनि २ करोड ५० लाख भुक्तानी पाउन बाँकी छ । यो खण्डमा पनि राम्रो काम भएकोमा बजेट अभावले रोकिएको शर्माले बताए । यो खण्डका लागि पनि चालुबर्ष १ करोड मात्रै बजेट आएको हो ।

गलकोटको मल्मदेखि पाण्डवखानी जाने सडक, मुस्ताङ र म्याग्दी लगायतका जिल्लाका ठूला योजनामा पनि बजेट कटौती भएको डिभिजन इन्जिनियर अनुक्षा घिमिरेले बताइन् ।
मध्यपहाडी लोकमार्ग लगायतका केही महत्वपूर्ण योजनामा भने ठेकेदार कम्पनीले काम अलपत्र छाडेका छन् । लोकमार्ग आयोजना कार्यालयले कालोसूचिका लागि सिफारिस गर्दा पनि अदालतले संयुक्त निर्माण कम्पनी भएकोले एउटाले नसके अर्कोले गर्ने भन्दै निर्णय उल्ट्याएपछि अक्षेतेदेखि घोडाबाँधे खण्ड अलपत्र परेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->