बागलुङ/नेपाल ट्रेड युनियन काँग्रेस बागलुङले आबद्ध संस्थाका प्रमुख तथा प्रतिनिधिलाई एक दिने प्रशिक्षण दिएको छ । बुधबार आयोजित प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गरेर ट्रेड युनियन अधिकार र कर्तव्यबारे जानकारी दिईएको हो ।
कार्यक्रममा योगदानमा आधारित सामाजिक सुरक्षा कोष र ट्रेडमा आवद्ध विभिन्न सवद्ध संस्थाबारेम सहभागीलाई आफ्नो पेशागत सुरक्षामा सचेत रहन जानकारी गराइएको थियो ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य तथा नेपाल ट्रेड युनियन केन्द्रीय महिला विभाग उपाध्यक्ष शकुन्तला शर्माले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्न र योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्न सबै ट्रेड युनियनमा आवद्ध संघ संस्थाहरु सक्रिय बन्नुपर्ने बताइन् ।
नेपाल ट्रेड युनियन काँग्रेस गण्डकी प्रदेशका उपाध्यक्ष घनश्याम रेग्मी र सचिव रुद्रहरी तिमिल्सिनाले तालिम सहजीकरण गरेका थिए । कार्यक्रम ट्रेड युनियन काँग्रेस बागलुङका अध्यक्ष इश्वर ठाकुर पौडेलको अध्यक्षता, उपाध्यक्ष कुमार प्रसाद उपाध्यायको स्वागत र सचिव विरबहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।





