बागलुङ/ सात समुन्द्र पारीको देश, मध्यरात, एक्लो कोठा । सुतिरहेको अवस्थामा कोही पुरुषले उनको मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु तर मैले भनेको मान ।’ उनले शरीरमा भएभरको बल लगाएर प्रतिकार गरिन् । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछारिन् । हतार–हतार कोठाको चुकुल लगाइन र आफूलाई बचाइन् । त्यसपछि सुरु भए उनका थप कष्टका दिन् ।
घरेलु कामदारको रुपमा कुवेत पुगेकी बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिला बिकको व्यथा हो यो । आफन्तकै सल्लाहमा सरसफाई मजदुर भनेर कुवेत पुगेकी कौशिला कुवेत पुग्दा घरेलु कामदार बनिन् । कुवेत पुगेको दुई साता बितिनसक्दै उनीमाथि हिंसाको प्रयास भयो ।
हिंसा प्रतिकार गरेकाले उनलाई २८ दिनमा ३ ठाउँमा काम फेरियो । जहाँ गए पनि कामको अवस्था भने उस्तै । नेपालमा हुँदा खाडी मुलुकमा महिलामाथि हुने हिंसाका घटनाको विषयमा धेरैथोरै समाचार सुनिरहेकी कौशिलाले कुवेतमा बसेर घरको ऋण तिर्नभन्दा स्वदेश फर्किने निर्णय लिइन् । ‘मेरै आँखा अगाडी एजेन्टहरुले ९ सय कुवेती डलरमा एक जना नेपाली दिदीलाई कुवेतीको घरमा काम गर्न बेचे, अनि मेरो मन थामिएन,’ बिकले भनिन् ‘मैले नेपाल फर्किने बाटो खोजेँ ।’ उनले नेपाल फर्किन खोजेको नेपालमा रहेका एजेन्टले थाहा पाएपछि उनीसँग भएको मोवाइल खोसियो । बन्द कोठमा बिना काम राखेर मानसिक तनाव मात्रै दिने गरेको उनले सुनाइन् ।
‘नेपालमा क्लिनर हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेण्ट दिए, दुईथरी डकुमेण्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो।’ कौशिलाले भनिन्,‘नेपालकै विमानस्थलमा दुईथरी डकुमेण्ट, भिजिट भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर एयरपोर्टमै बसेका एजेन्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो । घरेलु काममा लगायो । केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।’
कुवेतमै रहेकी एक नेपालीको मोवाइलको सहारामा माइती नेपाल र सुरक्षित आप्रवासन परियोजनामा सम्पर्क गरेकी उनले सबै कागज भने सुरक्षित राखेकी थिइन् । बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमले उनको सबै डकुमेण्ट मगायो । उनले समयमा लुकीलुकी डकुमेण्ट उपलव्ध गराइन् । कार्यक्रमले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थासँगको सहकार्यमा उनीसम्म पुगेर उनलाई सकुशल नेपाल ल्यायो ।
‘मैले एजेन्टलाई कि मलाई नेपाल फकाऊ होइन भने चार तला माथि छु, हामफालेर मर्छु, तँ पर्छस् भनेँ,’ कौशिलाले भनिन् ‘मरे लाश ल्याउन पहल गर्छु भनेर जवाफ दियो ।’ सामीले दिनरात नभनी आफ्नो उद्धार गरेको उनले बताइन् । ‘उहाँ सचेत हुनुहुँदो रहेछ, हामीसँग समयमा सम्पर्कमा आउनुभयो र आवश्यक कागजात सबै उपलव्ध हुँदा उद्धारमा सहज भयो,’ सुरक्षित आप्रवासन कार्यक्रमका परामर्शदाता गंगा रिजालले भनिन्,‘गाउँपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया बिकको सहयोगमा हामी उहाँसम्म पुग्यौं, उहाँले रातभरी पनी म्यासेज गर्नुहुन्थ्यो,हामीले दिनरात नभनि उहाँको उद्धार ग¥यौँ ।’ वैदेशिक रोजगारीको विषयमा राम्रोसँग जानकारी नलिइ जाने र गइसकेपछि पनि फर्किन सक्ने बाटाहरुको विषयमा जानकारी नहुँदा धेरै नेपाली कामदार श्रम शोषण र हिंसाको शिकार हुने गरेको कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बताए ।
पासपोर्ट बनाउने बेला नै उनले कोरिया जाने भनेकी थिइन् । आफन्तले कुवेतमा काम लगाइदिने भनेपछि काठमाडौंसम्म बसमा पासपोर्ट पठाएको बताउने उनले मेडिकल गरेको दश दिनमै भिसा आएपछि विमानस्थल प्रवेश गरेपछिमात्रै आफू कुवेत जान लागेको थाहा पाएको बताउँछिन् । ‘मलाई आफन्तले नै फसाए,’ उनले भनिन् ‘घरेलु कामदारको रुपमा कोही दिदीबहिनी खाडी नजानू, त्यहाँ दिदीबहिनीको हालत खराव छ ।’ कुवेत पुगेको २८ दिनका दिन नेपाल फर्केकी बिक अब भने कोरियाको तयारी गर्ने बताउँछिन् ।





