बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

इमेज सहकारी पीडित ६ महिनादेखि सडकमा

इमेज सहकारी पीडित ६ महिनादेखि सडकमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १९ २०८०, आइतबार

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता पीडित ६ महिनादेखि सडकमा संघर्षरत छन् । उनीहरुले कहिले बागलुङ र गलकोट त कहिले काठमाडौंको माइतीघरमा पुगेर पनि आफ्नो संघर्ष जारी राखेका छन् ।

झण्डै डेढ अर्ब रकम हिनामिनापछि भागेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बेपत्ता भएपछि पीडितहरु ६ महिनादेखि संघर्षमा परेका हुन् । नेपालीको खोजीमा राज्यले पहल नगरेको भन्दै पीडितहरुले जिल्लाा आइपुग्ने जो कोही नेतासमेतलाई गुहार्न थालेका छन् ।

शुक्रबार कांग्रेसको जिल्ला सम्मेलनमा आएका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई समेत उनीहरुले ध्यानाकर्षण गरेका छन् । पीडितको रकम फिर्ता गर्ने काममा साथ दिन देउवालाई ज्ञापनपत्र बुझाएका छन् ।

उनीहरुको समस्याबारे देउवाले चासो व्यक्त गरेका थिए । राज्यको काम भए पनि आफ्नोतर्फबाट ध्यानाकर्षण गराउने उनले बताएको एक पीडितले बताए । बागलुङमा मात्रै झण्डै १ हजार ५ सयबढी बचतकर्ताहरु उक्त सहकारीबाट पीडित छन् । पीडितहरुले बेलाबेला आन्दोलनका स्वरुप फेरेर संघर्षमा छन् ।

आफ्नो दैनिकी चलाउन समेत धौधौ भएको भन्दै राज्यले व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । ‘वर्षौंदेखि व्यवसाय गरेर कमाएको रकम सहकारीमा राखेकोमा अहिले केही पनि पाइएन,’ बागलुङ नगरपालिका वडा नंं. ७ का तुलसीराम गौतमले भने, ‘राज्यले पनि पीडितको कुरा सुनेन ।’ भागेका नेपालीलाई पक्राउ गरेर ल्याउनसमेत राज्यले बेवास्ता गरेको उनको आरोप छ ।

गत वैशाख ६ गतेको बैठकको निर्णय भन्दै ७ गते सूचना प्रकाशित गरेर सहकारी संस्था बन्द गरेपछि अहिलेसम्म खुलेको छैन । सुरुमा तरलता अभाव देखाएको सहकारीले अन्ततः पैसा हिनामिना पारेपछि बन्द गराएको हो ।

सहकारीका अध्यक्ष नेपाली कता छन् भन्ने राज्यलाई समेत थाहा छैन । नेपाली सम्पर्कविहीन हुँदा १ हजार ५ सय ५० भन्दा धेरै जनाको १ अर्ब ६० करोडभन्दा धेरै रकम अलपत्र परेको तथ्यांक छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->