बागलुङ/ भूकम्पले क्षति पुगेको पश्चिम नेपालका जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तिमा ५० लाखको राहत पठाइने भएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिले उक्त निर्णय गरेका हुन् । साथै अन्य संघ/संस्थाको सहयोग पनि व्यवस्थापन गरेर पठाइने निर्णय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।
बैठकले घटनामा मृत्यु भएकाहरुलाई श्रद्दाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको पनि कामना गरेको हो । गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलब ४ रेक्टर स्केलको भुकम्प गएको थियो । भुकम्पमा परेर १५७ जनाको मृत्यु भएको छ । घटनामा २ सय ५० बढी घाइते छन् भने सयौं मानिस घरबारबिहिन भएका छन् ।
बैठकमा उपस्थित सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । संकलित सहयोगलाई जिल्ला प्रशासनमार्फत् वितरण गर्ने निर्णय भएको हो ।
जिल्लाका ४ नगरपालिकाले ६ लाख ३० हजारको दरले र ६ गाउँपालिकाले ४ लाख २० हजारको दरले गरी ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । उक्त रकममध्ये नगद रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा अत्यावस्यक सामाग्री खरिद गरेर पीडितलाई वितरण गर्ने तयारी भएको जानकारी दिए । वितरणका लागि जिल्लाको टोली त्यसतर्फ सोमबार जानेछ ।
बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा संघसस्थाले पनि राहत सामग्री संकलन गरिरहेका छन् । ‘हामीले न्यानो कपडाहरु संकलन गरिरहेका छौं, वितरणका लागि टिम बनाएर पठाउने तयारी छ,’ उनले भने, ‘पीडितलाई जे आवश्यक छ, त्यो पु¥याउन प्रशासनले पनि समन्वय गरिदिनुपर्छ ।’
बैठकमै पुगेका सिवाइसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले ५० हजार नगद दिने घोषण गरे । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले १ लाख दिने अध्यक्ष कुमार खड्काले जानकारी गराएका थिए ।
त्यसबाहेक सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले रुकुम पश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्पर्क गरेर त्यहाँ आवश्यक पर्ने सामानहरुको प्राथमिकीकरण गरिदिन आग्रह गरेका थिए ।
बिशेषगरी जाडो मौषम भएकोले न्यानो कपडा, खाद्यान्न र औषधि आवस्यक पर्ने भएकोले सोही प्रकारको रकम र सामान संकलनलाई तीव्रता दिएर सोमबारसम्ममा घटनास्थलमा पु¥याउने तयारी भएको बताइएको छ ।
नेपाल रेडक्रमस सोसाइटीका सभापति जगन्नाथ आचार्यले कम्तिमा ५० परिवारका लागि पाल, कम्मल र खाने पकाउने भाँडाको व्यवस्थापन गर्ने समेत जानकारी गराए ।
बैठकमा उपस्थित भएका सुरक्षा निकायका प्रमुखहरुले आवस्यकताको आधारमा स्वयंसेवक पठाउन सक्ने, सुरक्षाको व्यवस्थापनमा सहयोग गर्ने बताए । बिपतको खोजी उद्दार सकिएकोले पुन निर्माणलगायतका विषयमा पनि जिल्लाबाट आवस्यक सहयोगका लागि टिम तयार गर्ने बिषयमा छलफल भएको थियो ।
जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बस्ने व्यवस्थापन समस्या हुने भएकोले न्यानो कपडा र अस्थायी टहरा बनाउने काममा जिल्लाबाट साथ दिनुपर्ने सुझाएका थिए । कार्यक्रममा आइपुगेका प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्राथमिकताको आधारमा सहयोग जुटाउन आग्रह गरे । पहिलो चरणको राहत प्याकेज सोमबार जाने र दोश्रो प्याकेज तथा स्वयंसेवकसमेत लैजाने गरी कार्यक्रम बनाइएको बरालको भनाइ छ ।





