पोखरा / गत वर्षको पहिलो छ महिनामा ७५ हजार सात सय २३ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका थिए। जुन यो वर्षको सोही अवधिमा भएको पर्यटक आगमनको तुलनामा २५ हजार तीन सय दुईले कम हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार गत वैशाखदेखि असोजसम्म एक लाख एक हजार एक सय २५ विदेशी पर्यटकले सो क्षेत्रको भ्रमण गरेका छन्।
अन्नपूर्ण चक्रीय पदमार्ग आसपासका गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको संख्या गत वर्षभन्दा अहिले बढेको आयोजनाका प्रमुख डा. रबिन कडरियाले बताए।
‘कोभिड-१९को महामारीताका सुस्ताएको यहाँको पर्यटनले विस्तारै पुरानै लय पछ्याउँदै छ’, उनले भने, ‘दोस्रो पर्यटकीय याम सुरु हुँदासम्ममा यो वर्षको पर्यटक आगमन अझ बढ्ने देखिन्छ।’
अहिलेको मुख्य पर्यटकीय याममा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, म्याग्दीको घोडेपानीलगायत अन्नपूर्ण फेरोमा पर्ने गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिएको प्रमुख डा. कडरियाले बताए।
अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरिएको उनले उल्लेख गरे। ‘आन्तरिक पर्यटकको संख्या त यकिन नै गर्न सकिँदैन, सडक मार्ग भएर मुस्ताङ र मनाङ छिर्नेको संख्या उल्लेख्य छ’, प्रमुख डा. कडरियाले भने, ‘नेपालीहरू घुम्न निस्कने मुख्य याम पनि यही हो, विशेषगरी युवाहरूमा घुम्ने क्रेज बढ्दो छ।’
उनका अनुसार दसैं र तिहारको बीचमा पदयात्रामा जाने बढी हुन्छन्। कात्तिक महिना लागेपछि १९ गते भित्रमा मात्र १८ हजार दुई सय ९५ विदेशी पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा भित्रिएको आयोजना कार्यालयको तथ्यांकमा उल्लेख छ।
पछिल्लो छ महिनामा सबैभन्दा बढी वैशाखमा ३१ हजार नौ सय ५१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। गत महिना २८ हजार सात सय पाँच विदेशी पर्यटक त्यस क्षेत्रमा पुगेका थिए।
हालै नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि अन्नपूर्ण आधार शिविर पुग्नाले यस क्षेत्रको महत्व थप चुलिएको छ। त्यस बखत उनले हिमालमा सूर्योदयको किरण देखेर आफू छक्क परेको र नेपालको प्राकृतिक बनोट अद्भुत रहेको बताएका थिए।
अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा राखेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ। पर्यटक पथप्रदर्शक दिवस गुरुङले अन्नपूर्ण क्षेत्र प्राकृतिकरूपले सुन्दर, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको बताए।
‘कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ’, उनले भने, ‘आकर्षक गन्तव्यस्थलहरू, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट छ।’
मुख्य पर्यटकीय याम (असोज-कात्तिक) र (चैत-वैशाख) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको पथप्रदर्शक गुरुङले बताए। जोमसोमस्थित ‘एक्याप’को इलाका संरक्षण कार्यालयका प्रमुख प्रमोदराज रेग्मीले गत साउनदेखि असोजसम्ममा १५ हजार तीन सय २८ विदेशी पर्यटकले मुस्ताङ घुमेकामासार्क मुलुकका १३ हजार ९८ र सार्कबाहिरका मुलुकका दुई हजार दुई सय ३० पर्यटक रहेको उनले बताए।
‘मुस्ताङ भित्रने विदेशी पर्यटकमा भारतीय नागरिकको संख्या बढी छ, भारतीय धार्मिक पर्यटक मुख्य गरी मुक्तिनाथको दर्शनका लागि भ्रमणका लागि आउँछन्’, प्रमुख रेग्मीले भने, ‘दसैंपछि मुस्ताङमा आन्तरिक पर्यटकको चहलपहल पनि ह्वात्तै बढेको छ।’




