बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

हाम्रो छोरा खै ?

हाम्रो छोरा खै ?


  • ढोरपाटन संवाददाता
  • मंसिर ५ २०८०, मंगलबार

केसीले तत्कालिन नेपाली सेनाको कालीदल गुल्मका गुल्मपति चन्द्रबहादुर पुनको आदेशमा केसी नियन्त्रणमा परेकोले यथार्थ जान्न पाउनुपर्ने उनले माग गरेका छन् ।

बागलुङ/ आँगनको डिलमा आमाबाबु निराश अनुहारमा बसेर टोलाउँछन् । साठी आसपासको उमेरका उनीहरुको आँखाले २३ बर्षअघि हराएको छोरा खोजीरहेको हुन्छ ।

घरभरी छोराबुहारी नातीनातीनी हुनुपर्ने बेला हो । तर जैमिनी नगरपालिका–१० राङखानीको पाही गाउँका बिमल र नन्दकला केसी मात्रै बस्छन् । बेला बेला सदरमुकाम धाउँछन् । सदरमुकाम पुगेपछि उनीहरु कानून व्यवसायी, पत्रकार र अधिकारकर्मीलाई भेट्छन् । एकपटक प्रशासन र प्रहरीमा पनि पुग्छन् । तीन वर्षअघि उनले छोराको खोजी गरिपाउँ भनेर प्रहरीमा जाहेरी दिएका थिए । तर दर्ता भएन । अदालतमा रिट प¥यो । उच्च अदालत बागलुङले जाहेरी दर्ता गर्नु भन्ने परमादेश दियो । तर परमादेश पनि कार्यान्वयन भएन ।

काखैको छोरा घरबाट लगेकाहरुले फिर्ता दिएनन् । न त राज्यले सहारा दियो । १३ बर्षकै उमेरमा उनको छोरालाई बिद्यालयबाट तत्कालिन माओवादीले कार्यक्रममा लगेका थिए । तीन महिनासम्म फिर्ता ल्याइदिएनन् । जैदी र छिस्तीमा कार्यक्रम छ भनेर माओवादीका तत्कालिन एरिया इन्चार्ज सनिकुमार ओलीले छोरा गणेशलाई लगेका थिए । २०५७ मंसिर १२ गते पाहीस्थित जनता माबिमा कार्यक्रम गरेका माओवादीले गणेशलाई भोलीपल्ट फिर्ता ल्याइदिन्छौं भन्थे । जैदी पु¥याएपछि न गणेश केसी फर्के, न ओली सम्पर्कमा आए ।

२०५८ बैसाखमा छोरा हामीसँग सुरक्षित छ भनेर खबर पठाएको उनले बताए । ‘छोराले यतै बस्छु भनेको छ, डराउनु पर्दैन भनेर झुक्याए’ नन्दकलीले भनिन् ‘त्यसपछि न त्यो लैजाने नेता भेटिए, न छोरो फर्केर आयो ।’ अरु कार्यकर्ता पठाएर छोरा हामीसँगै छ भनेर झण्डै एक बर्ष झुलाएको उनले गुनासो गरिन् । त्यसपछि भने गणेशलाई सेनाले लग्यो भन्ने हल्ला गाउँमा फैलियो ।

संकटकाल लागेपछि छोरा खोज्न नसकेका केसी दम्पत्ति २०५९ को युद्वबिराम भएपछि जिल्ला प्रशासनमा निवेदन गर्न पुगे । तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्मा, रेडक्रसका पदाधिकारी र मानवअधिकारबादीले उनको छोरा खोजी गरिदिने आश्वासन दिए । बिमल छोराको खोजीमा पोखरास्थित सेनाको पृतनासम्म पनि पुगे । माओवादीका नेतालाई भेटे । कसैले पनि छोराको जानकारी दिएनन् ।

माओवादीको कार्यक्रममा सेनाले छापा मारेपछि १३ बर्षको गणेशलाई सेनाले लगेको भन्ने हल्ला चलेपछि केसी बागलुङस्थित २३ नम्बर बाहिनीमा छोरा खोज्दै पुगेका थिए । सेनाको एक अधिकृतले छोरा आर्मीमा भर्ती गर्न तालिममा पठाएका छौं भनेर झुक्याए । भेट्न नपाई केसी फर्के । पटक पटक व्यारेकमा पुग्दा उनले उस्तै जवाफ पाउँथे, तर छोरा भेट्न पाउँदैनथे । २०५८ कै कात्तिकमा सेनाले जिल्ला प्रवेशद्वारमा रहेको चेकिङमा सेनाकै पोशाक लगाएर माओवादी चिनाउन राखेको खबर आयो । ‘छोरो भेटिन्छ की भनेर सेना र पुलिसको चेकपोष्टहरु चहारें भेटिएन’ उनले भने ‘मालढुंगा पुग्दा छोरा बलेवा गएको छ भनेर फेरी झुक्याए ।’ बर्षौ धाएर पनि अझै छोराको पत्ता नलागेको उनले गुनासो गरे ।

छोरा हराएको २३ बर्ष भैसकेको छ । अझैपनि राज्यबाट गणेश मरेबाँचेको यकिन छैन । गणेश जस्तै बागलुङमा २१ जना बेपत्ताको सूचिमा छन् । ‘कसैले तेरो छोरा म¥यो पनि भनेनन्’ उनले भने, ‘जिउँदो छ पनि भनिदिएनन् ।’ बाहिर कोही बोलेको सुन्दा छोरा आए जस्तो लागेर कैयौ रात जुरुक्कै उठेर बाहिर निस्केको केसी दम्पत्तिले बताए ।

नन्दकला अहिले पनि मानसिक रुपमा बिछिप्त छिन् । छोरीको छोरा ल्याएर घरमा राखेर गणेशको न्यास्रो मेटाउने प्रयास गरेको उनले बताइन् । भारतमा कक्षा ४ सम्म पढेपछि बागलुङ फर्केर गणेशले कक्षा ५ मा पढ्दा पढ्दै माओवादीले लगेका थिए । सेना र प्रशासनका अधिकारीले सेनाको नियन्त्रणमा रहेको थाहा पाएपछि केसीले छोराको खोजी प्रशासन, प्रहरी र सेनामा बढाएका थिए । सेनाकै अधिकारीले छोरा बेपत्ता बनाएको भन्दै केसीले जाहेरी दिएका थिए । ‘अदालतको आदेश पनि प्रहरीले मानेको छैन, अब मानहानीमा जानुपर्ने भयो’ अधिवक्ता राम शर्माले भने, ‘शान्ति सम्झौताले दिएको हद म्याद सरकारले नटेरेपछि पीडितहरु पीडित भैरहेका छन् ।’ सही सूचना दिएको भए पीडितले आफन्तलाई भुलिसक्ने उनले बताए ।

नाबालक भएकोले राजनीतिमा लाग्ने वा बिद्रोही हुने समय नै नभएको अवस्थामा बलपुर्वक नियन्त्रणमा लिएको केसीको जाहेरीमा उल्लेख छ । केसीले तत्कालिन नेपाली सेनाको कालीदल गुल्मका गुल्मपति चन्द्रबहादुर पुनको आदेशमा केसी नियन्त्रणमा परेकोले यथार्थ जान्न पाउनुपर्ने उनले माग गरेका छन् । ‘कि लास चाहियो, की सास चाहियो’ उनले भने, ‘मारिएको हो भने के कारणले मरियो त्यो जान्न पाउनु पर्छ ।’

गणेशका भाइ चिरन पनि अहिले साउदीमा काम गर्छन् । बुहारी तारा बागलुङ बजारमा पढ्दैछिन् । ताराले पनि गणेशको खोजी हुने गरी द्वन्द्व पीडित महिला संजालमा आबद्ध भएर काम गरिरहेको बताइन् । ‘हामीले गर्ने कतिपय कार्यक्रममा बुबाआमालाई ल्याउँछौं’ ताराले भनिन्, ‘जिल्लाका अरु पीडित आमाबुबालाई सँगै राखेर कार्यक्रम गर्दा पीडा भुल्न सजिलो हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->