
लमजुङ/ सीपबिहीन बेरोजगार, गरिब र विपन्न युवा लक्षित सीपमूलक ड्राइभिङ तालिममा सदरमुकामका पहुँचवाला व्यापारी, जागिरे, कर्मचारीका आफन्त र पत्रकारले हालीमुहाली गरेका छन् ।
पर्यटन तथा उद्योग कार्यालय लमजुङबाट लक्षितवर्ग, समुदायबाट तालिमका लागि भदौमा सूचना माग गरिएकोमा बेसीशहरमा व्यवसायी, जागिरे, कर्मचारीका आफन्त र पहुँचमा रहेका पत्रकारले हालीमुहाली गर्दै ड्राइभिङ तालिम लिएका हुन् ।
८५ जनाको आवेदन परेपछि चरणवद्ध रुपमा २० जना प्रशिक्षार्थी र ३ जना वैकल्पिकमा छनौट गरिएको पर्यटन तथा उद्योग कार्यालय लमजुङबाट जारी सूचनामा जानकारी गराईएको छ । २० जना मध्येमा २ जना व्यवसायी, २ जना जागिरे र १ जना कर्मचारीका छोरा तनहुँका विद्यार्थी रहेका छन ।
असोज १७ गतेदेखि सुरु भएको तालिम लिईरहेका बेसीशहर नगरपालिका २ का सुमन धिताल औषधी व्यवसायी, मस्र्याङ्दीगाउँपालिका ८ का सन्तोष विश्वकर्मा बेसीशहरमै डेन्टल क्लिनिक सञ्चालक हुन् । अर्का प्रशिक्षार्थी ईश्वरराज सेढाईं कृषक जागरण सहकारी, लुम्बिनी इन्स्योरेन्स हुँदै अहिले प्रभु इन्स्योरेन्स बेसीशहर शाखा प्रमुख रहेका र जनक श्रेष्ठ राष्ट्रिय समाचार समितिका संवाददाता र दोर्दी गाउँपालिकाका प्रेस सल्लाहकार रहेका छन् ।

व्यास नगरपालिका ६ तनहुँ घर भएका प्रशिक्षार्थी विशाल गुरुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत् पहुँचवाला प्रहरीका छोरा भएको र बेसीशहरमा बसेर क्याम्पस पढ्दै आएको बुझिएको छ । अधिकांश अन्य प्रशिक्षार्थी पनि पहुँचकै आधारमा छनौटमा परेका छन् ।
वैकल्पिक प्रशिक्षार्थीको सूचिमा परेका क्व्होलासोथार गाउँपालिका १ का अमृत विक कामीले आफु विकट ठाउँबाट आएको र विपन्न दलित परिवारको भएपनि आफु छनौटमा नपरेकोमा दुःखेसो पोखे । जिल्लामा ८ स्थानीय तह भएपनि ९ जना प्रशिक्षार्थी बेसीशहर नगरपालिकाकै रहेका छन् । तिमध्ये धेरैजसो बजारमै घर भएर विभिन्न पेशा व्यवसाय गर्दै आएका छन् । सुन्दरबजार र मध्यनेपाल नगरपालिकाबाट भने सहभागिता शुन्य रहेको छ ।
गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमार्फत् चालु आव २०८०÷८१ मा पर्यटन तथा उद्योग कार्यालय लमजुङमा सो तालिम कार्यक्रम पठाएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जनाएकी छन् ।
प्रशिक्षार्थी छनौटका क्रममा कार्यालय प्रमुख थापा, जिल्ला प्रशासन कार्यालय, बेसीशहर नगर कार्यपालिका, लमजुङ उद्योग बाणिज्य संघ र घरेलु तथा सानाउद्योग महासंघ जिल्ला समितिका प्रतिनिधि रहेको समितिले प्रशिक्षार्थी छनौट गरेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।





