पोखरा / नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शो मार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटकप्रेमी समेतको उपस्थितीमा विशेष शोमार्फत् मञ्चन भएको थियो । नाटक हेरे पश्चात दर्शकले नाटक टीमले गरेको मेहनतको प्रंशसा गरेका थिए ।
मंगलबारबाट पोखराका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर नाटक मञ्चन गर्ने क्रम सुरु भएको हो । यो क्रम आगामी पौष ६ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा निरन्तर मञ्चन हुने नाटकका निर्देशक परिवर्तनले बताए । बुकिङ शो भएपनि हेर्न इच्छुकले व्यक्तिगत रुपमा ती शो मा पुगेर नाटक हेर्न भने पाउनेछन् ।
‘एक चिहान’ साहित्यकार हृदयचन्द्र सिंह प्रधानले लेखेको उपन्यास हो । प्रधानको उपन्यास एक चिहान पाठ्यक्रम विकास केन्द्रद्धारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरिएको छ ।
उपन्यास एक चिहानलाई नाट्य रुपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन् । सह–निर्देशन अञ्जु दाहालले गरेको नाटकमा हरिदेवी कोइरालाको असारेगीतसमेत समावेश छ ।





