
तनहुँ / जिल्लाको आँबुखैरेनी-६ स्थित कन्यादेवी माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरापालन व्यवसाय सुरु गरेको छ ।
ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी पढ्ने कार्यसँगै कमाउने अवसर दिन कुखुरापालन व्यवसाय सुरु गरेको हो ।
गाउँपालिकाले विद्यालयमा कार्यक्रम सुरु गरेपछि विद्यालयमा पढाइसँगै विद्यार्थी कृषि पेसामा आबद्ध भएका छन् । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिकाले पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरापालन गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले बताए । विद्यालयमा अध्ययनरत १ सय २५ विद्यार्थी मध्ये २० जना विद्यार्थी कुखुरापालनमा आबद्ध भएका छन् ।
गत असारको ६ गते २ सय वटा स्थानीय जातका चल्ला ल्याएर विद्यालयमा पाल्न सुरु गरिएको हो । हाल बिक्री गर्न लायक भएको प्रधानाध्यापक गुरुङले जानकारी दिए । भाले कुखुरा प्रतिकिलो ८ सय रुपैयाँ र पोथी कुखुरा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।
आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। सो विद्यालयमा आर्थिक रूपमा विपन्न, दलित, आदिवासी जनजाति बालबालिका अध्ययन गर्ने भएकोले सहयोग गरिएको हो।
विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफलको जग्गा छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले कुखुरा पालन सहज भएको छ । कुखुरापालनबाट आएको मुनाफा विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम व्यवस्था गरिएको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिए ।
विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ ।





