म्याग्दी / जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटन प्रवद्र्धनका लागि पदयात्रा गरिएको छ । समुन्द्री सतहदेखि चार हजार तीन सय पाँच मिटर उचाइमा रहेको अन्नपूर्णको उत्तरी आधार शिविरको अवस्था र आवश्यकता सहितका पूर्वाधार निर्माण गर्ने योजना सहितको उद्देश्य राखेर विज्ञहरुको टोली नारच्याङ हुँदै अन्नपूर्ण हिमालको प्रथम आरोही मौरीस हर्जोगको नामबाट निर्मित पदमार्गको प्रयोग गरि आधार शिविर पुगेको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त अयोगका अध्यक्ष बालानन्द पौडेल, सदस्य जुद्ध बहादुर गुरुङ, नेपाल सरकारका पूर्वमुख्य सचिव डा. सोमलाल सुवेदी, पर्यटन विज्ञ तथा सिटिईभिटीका पूर्व सदस्य सचिव रामहरी लामिछाने, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदी, पदमार्ग पहिचानकर्ता तथा पर्यटन व्यवसायी तेज गुरुङलगायत गाउँपालिकाका कर्मचारी, जिल्लाका संचारकर्मी तथा स्थानीय अगुवाहरु सहितको २५ जनाको टोली हुमखोलादेखि दुई दिनको पैदलयात्रामा आधार शिविर पुगेर फर्किएको हो ।
मौरीज हर्जोग अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर बनाएको पदमार्गमा पर्यटक भित्र्याउन र पूर्वाधार निर्माणका लागि सुझाव लिन विज्ञहरु सहितको पदयात्रा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
अन्नपूूर्ण हिमाल म्याग्दीमा भएर पनि यसको रोयल्टी लगायतको लाभ हामीले पाउन नसकेको बताउँदै तथ्यलाई पुष्टि गरेर वित्त आयोगले वितरण गर्ने पर्यटन रोयल्टी म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा ल्याउने र पदमार्गको प्रर्वद्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो ।
हुुमखोला हुुदै गुरासेडाँडा, फुुतफेते झरना, साँधीखर्क, भुुसकेत, चार हजार एक सय ९५ मिटर उचाईमा रहेको नारच्याङ पञ्चकुुण्ड ताल हुुदै आधार शिविरसम्म पैदलयात्रा गरिएको थियो । पदयात्रा टोलीमा सहभागी वित्त आयोगका अध्यक्ष पौडेलले अन्नपूर्ण हिमाल आरोहरणको रोयल्टीका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले गरेको दावीलाई तथ्य र तथ्याङ सहित अध्ययनपछि सरकारलाई सिफारिस गरिने बताए ।
झोलुङ्गे पुल, विश्रामस्थल, आश्रयस्थल लगायतका पर्यटन पूर्वाधार तयार भएपछि यसपालीको शरदयाममा पहिलो पटक आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर पुगेका थिए । नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ ।
हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ । एकै दिन पैदलयात्रा गरेर पुगिने र नयाँ ठाउँ भएकाले ‘भर्जिन’ गन्तब्य रोज्नेहरुलाई अन्नपूर्ण नर्थ बेसक्याप आकर्षक गन्तब्य बन्ने सम्भावना रहेको पुर्व मुख्य सचिव सामेलाल सुवेदीले बताए ।
छोटो समयमा सहज रुपमा पुग्न सकिने अन्नपूर्ण आधार शिविर रमणीय र मनमोहक रहेको रहेको छ । पदमार्गमा होटल, सञ्चार, सुरक्षा, खानेपानी, विद्युत, सरसफाइका पूर्वाधार बनाउन सुझावसमेत दिइएको छ । सन १९५० जुन ३ तारिकका दिन फ्रान्सका मौरिस हर्गोजले आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए ।
मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। अन्नपूर्ण पहिलोपटक मानव पाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्गोज आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै वि.स. २०६८ मा नारच्याङका तेज गुरुङको अगुवाईमा ‘मौरिज हर्गोज पदमार्ग’को पहिचान गरिएको थियो ।
अन्नपूर्ण आधार शिविरमा पुग्ने पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले रु. दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले ४० लाखभन्दा बढी लगानी गरेका छन् ।
अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार बर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणको रुपमा रहेको छ ।





