बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

४० बर्षमा एचआइभी संक्रमणको दर ५४ प्रतिशतले कम

४० बर्षमा एचआइभी संक्रमणको दर ५४ प्रतिशतले कम


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८०, शनिबार

बागलुङ / रोग सुरु भएको ४० बर्षमा विश्वमा एचआइभी संक्रमणको दर घट्दो अबस्थामा छ । यो क्रम नेपालमा पनि घट्दो छ । तर जोखिम कम गर्न सर्तकता भने नियमित चाहिने स्वास्थ्यकर्मीहरुले बताएका छन् । २०२१ सम्ममा कुल संक्रमित ३ करोड ८४ लाख मध्ये ७५ प्रतिशत एन्टीरेट्रोभाइरल आएरभी उपचारमा छन् ।

संख्यात्मक रुपमा घटे पनि संक्रमितको मृत्युपछि बालबालिकाको शिक्षा र स्वास्थ्य अबस्था कमजोर हुने गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । उनीहरुको अभिभावक नहुँदा राज्यको दक्ष नागरिक बन्नुपर्ने बालबालिका सडकमा पुग्ने गरेको र अकालमा ज्यान जाने गरेको समेत उनले बताए ।

सन् २०२१ मा मात्रै विश्वमा ६ लाख ५० हजार व्यक्तिले एड्सको कारण ज्यान गुमाएका थिए । सन् २०१० मा यो संख्या १४ लाख थियो । मृत्युको संख्या कमी देखिएपनि पछिल्ला बर्ष बढीरहेका लापरबाहीका घटनाले पुन संक्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीहरुको चिन्ता छ ।

नेपालमा १ हजार २ सय बालबालिका एचआइभीको समस्यामा रहेको घिमिरले जानकारी दिए । उनका अनुसार नेपालभर अहिले ३० हजार एचआइभी संक्रमित मध्ये वर्षेनी ३ सय ३६ को मृत्यु हुने गरेको छ । उक्त मृत्युले सामान्य बालबालिकापनि अभिभावकविहीन बनाइदिएको छ ।

सामाजिक बिकास मन्त्रालयको तथ्यांकमा गण्डकी प्रदेशमा मात्रै नियमित औषधि खाने २ हजार ८ सय ३६ जना एचआइभी संक्रमित छन् । ती मध्ये कास्कीमा मात्रै १ हजार ४ सय २५ जनाले नियमित औषधी सेवन गर्छन् । स्याङजामा ३ सय ३८, तनहु“मा २ सय ५९, गोरखामा २ सय ३०, बागलुङमा १ सय ८८ र लमजुङमा १ सय २२ जना संक्रमित छन् ।

नवलपुरमा १ सय २, म्याग्दीमा ९२ र पर्वतमा ८० जना संक्रमितले औषधी सेवन गरिरहेको सामाजिक बिकास मन्त्रालयको तथ्यांक छ । मनाङ र मुस्ताङमा औषधी सेवन गर्ने संक्रमित छैनन् । गण्डकीमा २ सय ९२ बालबालिका एचआइभी संक्रमित छन् । १८ बर्ष मुनिका १ सय २८ र १८ बर्षका १ सय ४५ जना छन् । ती मध्ये १६ जना बालबालिका संक्रमण पुष्टी भएपछि मृत्यु भएको छ ।

संक्रमितमध्ये कास्कीमा मात्रै ७७ बालबालिका संक्रमित छन् । स्याङजामा ५४ र बागलुङमा ३३ बालबालिका संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेशको प्रतिवेदन अनुसार संक्रमित बालबालिकाको ३६ प्रतिशत अर्थात १ सय ४ जनाले एकजना अभिभावक गुमाएका छन् भने २२ प्रतिशत अर्थात ५४ जनाका बाबुआमा छैनन् । घिमिरेका अनुसार बागलुङमा मात्रै १२ बालबालिकाले एकजना र ५ जनाले बाबुआमा नै गुमाएको बताए ।

असुरक्षित यौन सम्पर्क, रगतजन्य बस्तुको लेनदेन र संक्रमित आमाबाट जन्मने बच्चामा एचआइभी संक्रमण हुने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए । ‘एचआइभी संक्रमण भएको व्यक्तिको रोगप्रतिरोध क्षमता कमजोर हुन्छ,’ शर्माले भने, ‘त्यसपछि त्यस्तो मानिसमा अन्य सबैप्रकारका रोगले आक्रमण गर्छ ।’ सबै संक्रमणको जोखिम भएको अबस्था नै एड्स भएको उनले बताए । हरेकले असुरक्षित क्रियाकलापबाट बच्न उनले सुझाए ।

बागलुङका १० वटै स्थानीय तह, त्यहाँका स्वास्थ्य शाखा र जिल्ला स्वास्थ्यको समन्वयमा शुक्रवार बिद्यालय तहमा स्वास्थ्य शिक्षा कार्यक्रम समेत संचालन भएका छन् । बालबालिकालाई यस्ता सक्रमण बारे समयमा जानकारी गराउँदा जोखिमको मात्रा कम हुन्छ,’ शर्माले भने, ‘यस्ता अभियानको कारण पछिल्लो समय संक्रमणको दर कम भएको हो ।’

सन् १९८१ मा विश्वमा पहिलो पटक एचआइभी संक्रमण देखिएको थियो । हालसम्म ८ करोड ६० लाख एचआइभीका संक्रमित छन् । ती मध्ये ४ करोड १० लाखको मृत्यु भैसकेको छ । विश्वमा हरेक दिन ४ हजार मानिस एचआइभी संक्रमित भैरहेको विश्वस्वास्थ्यको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->