बागलुङ / साताव्यापी अभियानसँगै सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाले चण्डीप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सहकारीको सचिवमा जयराम भारी सहितका पदाधिकारी निर्विरोध भएका छन् । उनीहरुको पदस्थापन पनि भएको छ ।
साधारणसभाको निर्णय प्रमाणिकरणसहित सबै कार्यक्रमहरु सम्पन्न भएका हुन् । निर्णय प्रमाणिकरण कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले सहकारीलाई हेर्ने दृष्टीकोण नकारात्मक भैरहेको बेला सिवाइसीले आमनागरिकको चाहनाअनुसार काम गर्नुपर्ने बताए । उनले सहकारीहरु जनताको सुखदुःखका साथी हुन भन्ने देखाउन सक्नुपर्ने पनि बताए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, जिल्ला समन्वय समितिका सदस्य हर्कबहादुर पाण्डे, बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारी, सल्लाहकार सिता शर्मा, परामर्शदाता इन्द्रराज पौडेल, एकता सहकारीका पूर्व अध्यक्ष कृष्णशंकर श्रेष्ठ, लेखा समितिका संयोजक पदमपाणी शर्मा, डिमुवा सेवा केन्द्र प्रमुख मिना केसी, उत्कृष्ठ किसान शिवकला खत्री लगायतले मन्तव्य राखेका थिए ।
हाल सहकारीमा २५ हजार ३ सय शेयर सदस्यको १ अर्ब ४५ करोड ९३ लाख शेयरपूजि छ । सहकारीले १० वटा वातावरणमैत्री नमूना गाउँ बनाउने, स्थानीय सरकारको साझेदारीमा लघुउद्यम कार्यक्रम संचालन गर्ने, १ हजार महिला स्वयंसेविकामा पुग्ने, सेवा केन्द्र बिस्तार गरेर ५० प्रतिशत सदस्यमा डिजिटल सेवा पु¥याउने लक्ष राखिएको सहकारीका कार्यकारी प्रमुख नवराज शर्माले बताए ।
१० हजार सदस्यलाई सहकारी शिक्षा दिने, १० हजार बाल बचत पु¥याउने, शेयर सदस्य ३० हजार बनाउने हाल रहेको २ अर्ब ४ करोड सम्पत्तिलाई ४ अर्ब पु¥याउने समेत सहकारीको लक्ष छ ।





