बागलुङ/ बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ । निर्माण व्यवसायीले कामको भुक्तानी समयमा नपाउँदा करिडोर कालोपत्रेको काम सुस्ताएको हो ।
बागलुङको मालढुंगादेखि छिमेकी जिल्ला गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक कालोपत्रेको काम रोकिने अवस्थामा पुगेको हो । भएको कामको समयमा भुक्तानी नहुने भएपछि निर्माण व्यवसायीले काम रोकेको जनाएका छन् ।
एक वर्ष पहिलेदेखि कालोपत्रेको काम सुरु भएका दुई खण्डमै काम रोकिने अवस्थामा छ । बागलुङ मालढुंगादेखि बलेवा बिमानस्थल सम्मको १० किलोमिटर खण्डमा काम गरिरहेको बिडारी निर्माण सेवाले ३६ प्रतिशत काम सकेको छ । बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्म ४४ किलोमिटर खण्डको काम गरेको कालिका निर्माण सेवाले पनि ३५ प्रतिशत भौतिक प्रगति गरेको छ ।
‘भएको कामको भुक्तानी भएको भए हामीले यसै बर्ष कालोपत्रेको काम सक्नेगरी काम गरेका थियौं,’ बिडारी निर्माण सेवाका प्रमुख ध्रुव बिडारीले भने ‘यसअघि भएको कामको करोडौं भुक्तानी पाउन बाँकी छ, भैरहेको कामको भुक्तानी हुने नहुने ठेगान छैन् ।’ आयोजनाले विनियोजित बजेट सकिएको सूचना दिएपछि निर्माणस्थलबाट मजदुर र मेसिन अन्यत्रै लैजानुपरेको बिडारी बताउँछन् ।
बागलुङ बलेवा खण्डमा पूर्वाधारका काम सकेर नाली र सवबेसको काम सुरु भएको थियो । यो बर्ष नालीको मात्रै काम पूरा हुने बिडारी बताउँछन् । दश किलोमिटर खण्डको काम सक्न कम्पनीले दुई बर्षको समय पाएको थियो ।
एक हजार दुई सयजना मजदुर र पचासभन्दा धेरै मेसिन परिचालन गरेको कालिका कन्ट्रक्सनले झण्डै २० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । हरेक दिन ७० लाखको काम गर्ने गरेको कम्पनीले भुक्तानी रोकिएपछि हरेक दिन हुने कामलाई घटाएको छ । ‘हामीले मेसिनहरु कम्पनीको क्याम्पमा थन्क्याएका छौं, मजदुरहरु अन्यत्रै सिफ्ट गरेका छौं,’ कम्पनीका इञ्जिनियर छकबहादुर गुरुङले भने ‘यसै वर्ष काम सक्ने योजना थियो तर अब गाह्रो हुन्छ ।’
काम भैरहेकै बेला विनियोजित बजेट सकिएको सूचनाले डेढ वर्षमा तोकिएको काम सक्ने योजना पूरा नहुने गुरुङ बताउँछन् । तीन वर्षको समयावधि पाएको कम्पनीले डेढ बर्षमै काम सक्नेगरी काम गरिरहेको थियो । ‘म्याद थप्ने बेला निर्माण व्यवसायीलाई सबैले गाली गर्छन्, काम भइरहेको बेला रोकिनुपरेको छ,’ गुरुङले भने ‘सबै जुटाएका बेला काम धमाधम हुन्थ्यो, फेरी त्यही जुटाउन समय लाग्छ ।’
झण्डै पाँच अर्ब खर्चेर तीन वर्षमा कालोपत्रेको काम सक्ने योजना रहेको करिडोरको यो खण्डका लागि चालु आर्थिक बर्षमा ८० करोड रुपैयाँ मात्रै विनियोजन भएको थियो । ‘कामको प्रोग्रेस राम्रो थियो, विनियोजित बजेट सकिएकाले रोकिन प¥यो,’ कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले भने ‘असार साउनमै भएको कामको भुक्तानी गर्दा बिनियोजित बजेट सकिँदा समस्या आएको हो ।’ भुक्तानी नहुँदा समयमा काम सकिनेमा समस्या आउन सक्ने उनले बताए । ‘हामीले यसै वर्ष काम सक्न प्लानिङ ग¥यौँ तर ब्रेक लाग्यो ।’ आयोजनाले भएका कामको भुक्तानी र थप कामका लागि दुई अर्ब रुपैयाँ माग गरेको छ । तर बजेट थप भएर वा रकमान्तर भएर आउने सम्भावना काम रहेको पौडेल बताउँछन् ।
‘अर्थले सम्बन्धित मन्त्रालयभित्रै रकमान्तरको स्रोत खोज भनेको छ, भौतिक पूर्वाधारमा यो वर्ष विनियोजन कम भएकाले त्यो सम्भावना रहेन,’ पौडेल भन्छन् ‘राजनीतिक तहबाट पनि पहल भैरहेको छ, आशा गरौं बजेट थप हुन्छ र काम अघि बढ्छ ।’ निर्माण व्यवसायीले काम ठप्प नपारी थोरै काम गरेर बर्ष गुजार्ने तयारीमा छन् । तर कामको गति घटेकाले करिडोर कालोपत्रे हुनेमा भने शंका सुरु भएको छ ।





