बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बालबिबाहबारे अध्ययन न तथ्यांक

बालबिबाहबारे अध्ययन न तथ्यांक


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८०, बिहिबार

बागलुङ/ निसीखोला गाउँपालिका–२ की एक बालिकाले कक्षा ८ मा पढ्दा १६ बर्षकै उमेरमा बिबाह गरेकी थिइन् । बीस बर्ष नपुग्दै २ सन्तान भैसके । पढाइ छाडेर बिबाह गरेकोले रोजगारी नपाएपछि मजदुरीमा लागेकी छिन् ।

बिबाहपछि बिद्यालय छाड्दा पढाइ पुरा नगर्ने धेरै भेटिन्छन् । उनीहरु मजदुरीमा लागेका छन् । बुर्तिवाङ बजारमा मजदुरी गर्दा सानो उमेरमा बिबाह गरेको र अहिलेको दुःखबाट पछुतो ती किसोरीहरुले बताए । उनीहरुले आफ्नो भाइबैनीलाई उमेर पुगेर मात्रै बिबाह गर्न सुझाव दिएको बताए ।

अभिभावक सचेत नभएको स्थानमा बालबिबाह बढी भएका छन् । घुम्ती बसाइ भएको ढोरपाटन नगरपालिकाको बोबाङ, तमानको खुंखानी, नर्जाखानी र ठास्पुरी तथा निसीको भलकोट क्षेत्रमा सानो उमेरमा बिबाह गरेका धेरै भेटिन्छन् । दलीत बस्ती बढी प्रभावित छन् । ती गाउँमा अझैपनि बालबिबाहको समस्या धेरै छ । ढोरपाटन नगरपालिका–७ ले तीन बर्ष अघिनै बाल बिबाह गरेमा परिवारलाई समेत सेवासुविधा नदिने निर्णय गरेको निवर्तमान अध्यक्ष नन्दे सुनारले बताए ।

वडाको निर्णयपछि अभिभावक केही सचेत बनेर सानो उमेरको बिबाह घटेको छ । यहाँको ज्ञानोदय माबिमा पढ्न आउने बिद्यार्थीमध्ये कक्षा ९ र १० मा अधिकांस बिबाहित भेटिन्थे । वडाको उक्त निर्णयले यो क्रम घटेको प्रअ यामबहादुर कायत बताउँछन् । ‘अहिले त एकादुइ मात्रै बिबाहित भेटिन्छन्, उनीहरु पनि खुलेर बिबाहित भन्न सक्दैनन्’ सुनारले भने, ‘छिटफुट बिबाह गरेकाहरुले पनि २० बर्ष काटेपछि मात्रै दर्ता गरेका छन् ।’ उनले पुरानो चलन फेर्न धेरै मेहेनत गर्नुपरेको अनुभव सुनाए । ढोरपाटन–६, ७, ८ र ९ मा अझैपनि छिटफुट बालबिबाह देख्न सकिन्छ ।

तमानखोला गाउँपालिकाले त बाल बिबाह गर्नेलाई कारवाही नै ग¥यो । बिबाह गरेको थाहा भएपछि तत्काल छुटाएर सुधार गृहमा पठाएपछि अहिले कमी आएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । मुलुकी देवानी तथा फौजदारी संहिता आएपछि २० बर्षे प्रावधान राखिंदा बालबिबाहको तथ्यांक बढेको हो । पालिकाले दुइबर्ष अघि १८ जोडीलाई कारवाही गरेको थियो । उक्त कारवाहीपछि बालबिबाह घटेको बुढा बताउछन् । ‘छिटफुट बिबाह भैरहेको छ, तर कानूनी रुपमा दर्ता गर्न आएका छैनन्’ उनले भने, २० बर्ष जायजन्म भए दर्ता नहुने डरले बिबाहित पनि खुल्दैनन् ।’ उनीहरु कानूनले २० बर्ष काटेपछि मात्रै विवाह दर्ता गर्न थालेका छन् ।

तमानले बालबिवाहबिरुद्ध डकुमेन्ट्रीसमेत बनायो । बाल बिबाहबाट खुंखानी, बुंगादोभान, खुंगा बढी प्रभावित छन् । बडिगाड गाउँपालिकाको दर्लिङ, भीमगिठे, निसीखोलाको देविस्थान, निसी र बोहोरागाउँमा यो समस्या अझै देखिन्छ ।

स्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले सानो उमेरमा बिबाह गरेकाहरुमा पाठेघरको समस्या देखिएको बताइन् । ‘बिभिन्न स्थानमा हामीले पाठेघरको क्यान्सर परीक्षण शिविर गर्दा समस्या भेटिनेमा बालबिबाह गरेकाहरु पनि छन्’ शर्माले भनिन्, ‘बिकसित नभएको यौनांग र पाठेघरमा घाउ बन्दा क्यान्सरको समस्या भएको देखिन्छ, छिटै सुत्केरी भएकाहरुमा अझैबढी समस्या छ ।’

तमानखोला ५ की त्रिसना सिर्पालीले केही समयदेखि बालबिबाह घटेको बताइन् । स्नातक अध्ययनरत उनका धेरै साथीले एसइईको समयमा बिबाह गरेका थिए । ‘अभिभावक सचेत भएको परिवारमा बिबाह भएको छैन, बाबुआमाले वास्ता नगर्दा छिटफुट विवाह भैरहेका छन्’ उनले भनिन्, ‘गाउँपालिकाले ल्याएको अभियानले पनि बालबिवाह घटाउन सहयोग पुगेको हो ।’

गलकोट नगरपालिका त गत जेठ १३ गते बालमैत्री घोषणा भैसक्यो । बागलुङ नगरपालिका र जैमिनीले पनि तयारी गरेका छन् । २०८८ सम्ममा बालमैत्री देश बनाउने सरकारी घोषणा छ । जिल्ला अदालत बागलुङमा आएका मुद्दामध्ये ९ जना बालबालिका थुनुवा छन् । उनीहरुमध्ये अधिकांस बाल बिबाहकै हुन् । मुद्दामा जवरजस्ती करणी, अपहरणजस्ता बिषय राखेर आएपनि सानो उमेरमा बिबाह गरेकोले मुद्दा परेको देखिएको अधिवक्ता गीता श्रीषले बताइन् । ‘केही त घटना भएका होलान, तर सानो उमेरमा बिबाह गरेपछि केटीपक्षले मुद्दा गरेको देखिन्छ’ श्रीषले भनिन्, ‘बालबिबाह भनेर
आउनुपर्ने मुद्दाहरु अपराध बनेर निस्केका छन् ।’

यस्ता बिषयमा ध्यान नदिए समाजमा गम्भिर असर पर्ने उनको बुझाइ छ । ती घटनाबाट अभिभावक सचेत बनेर सानो उमेरमा बिबाह गर्न रोक्ने क्रम पनि बढेको उनले बताइन् । दलीत समुदायको केटा र अन्य समुदायको केटीको विवाह भएमा बालबिबाह र जवरजस्ती करणी जस्ता मुद्दा आउने गरेका हुन् ।

बाल बिबाहबारे जिल्लामा यकिन तथ्यांक भने छैन । साबिकको महिला बिकास कार्यालय खारेजी भएपनि पालिका तहमा बालबालिका र महिला हेर्ने शाखा छन् । तर ती शाखामा बालबिबाहबारे कुनै तथ्थांक छैन । शिक्षा शाखाले जन्मदर्तामार्फत बिद्यालय तहको बिद्यार्थीको अनुगमन गरेमा बालबिबाह थाहा पाइने अधिकारकर्मी सिर्जना पन्तले बताइन् । ‘पहिला केही संस्थाले अध्ययन गरेर बेसलाइन तथ्यांक निकाल्थे, अहिले केहीपनि छैन’ उनले भनिन्, ‘अझैपनि शिक्षा शाखा र महिला तथा बालबालिका शाखाले चाहेमा तथ्यांक निकाल्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->