
बागलुङ/ विद्यालयमा धारा बनेको त दशक भैसक्यो । तर पानी कहिले पनि खस्दैन । त्यसैले विद्यार्थीले घरबाटै बोतलमा बोकेर ल्याउँछन् ।
सदरमुकामदेखि १ सय ३० किमी पश्चिमको निसीखोला–२ को देलधाराकी कक्षा ९ मा पढ्ने पूर्णकला बिकले दैनिक घरबाटै पानी ल्याउन बाध्य भएको बताइन् । घरमा नजिकै पानीको धारा छैन । बिहान उठेर भुकभुके भन्ने खोल्सामा पुगेर पानी खेप्दा तीन घण्टा बित्छ । खाना खाएर १० बजेको विद्यालय भेटाउन उनलाई कठीन पर्छ ।
अधिकांश दिन उनी समयमा विद्यालय पुग्न सक्दिनन् । देलधाराकै मिलन बिकको दैनिकी पनि यस्तै हो । यो बस्तीका ३५ जना बिद्यार्थी डेढ घण्टा परको अर्नाकोट माविमा पढ्न जान्छन् । घरदेखि एक घण्टा तल खोल्सामा पुगेर पानी खेप्नुपर्छ । ‘बिहान दुई खेप पानी नल्याए दिनभरलाई खानै पुग्दैन,’ उनले भने, ‘जंगलको बाटो बिद्यालय हिंडेर जान पनि उत्तिकै टाढा छ ।’ विद्यालयमा पानी नभएपछि दिउँसो खान आफैले बोतलमा लैजानुपरेको उनले गुनासो गरे ।
वडा नं. २ कै धम्पु गाउँमा पनि खानेपानीकै सास्ती छ । झण्डै ८० जना बालबालिका अर्नाकोट माबिमा पढ्न आउने गरेका छन् । उनीहरुले पनि पानी खेप्दा बिहानको पहिलो कक्षा छुटाउन बाध्य छन् । ढोरपाटन नगरपालिका–५ को बसुन्धरा भन्ने धारामा पुगेर पानी खेप्दा बिहान बित्ने गरेको अर्का बिद्यार्थी रंजिता सुनारले गुनासो गरिन् । ‘नजिकमा पानी छैन, खानेपानी घरमा खेपेर ल्याउनुपर्छ, गाईभैंसीलाई खुवाउनु परे खोलामै पु¥याउनु पर्छ,’ उनले भनिन्, ‘नजिकमा पानी नभएपछि सरसफाइ पनि गर्न पाईदैन ।’
कक्षा ८ का बिनिता बिक र सन्तोष बिकले पनि उस्तै दुःखका कुरा गरे । विद्यालयको पोशाक धुन नपाएर मैलो लगाउन बाध्य भएको उनीहरुको गुनासो छ । हिउँदका दिन स्थानीयले बढी सास्ती खेप्ने गरेको बताए । प्रअ वेदबहादुर कुँवरले समाजकै समस्या भएकोले बालबालिका ढिला आएपनि केही भन्न नसकेको बताए ।
अर्नाकोट मावि रहेकै बस्तीमा पनि पानीको सास्ती छ । दशकअघि लिफ्ट प्रविधिबाट ल्याएको एउटा योजना जीर्ण भएको छ । ४५ बर्ष अघिको पुरानो योजनामा पानी सुकेर गयो । लिफ्टको मोटर बिग्रेर मर्मत गर्दा गर्दा हैरान भएको स्थानीय हिराबहादुर बिकले बताए । खानेपानीको समस्या लिएर स्थानीयले वडा अध्यक्ष गाउँपालिकाका पदाधिकारी, जिल्ला समन्वय समिति र गैरसरकारी संस्थामा पनि धाएको बिकले बताए । निसीखोला–६ को पातीहाल्ने नजिकैको जेठीमाइली पहाडबाट पानी ल्याउन सकिने भए पनि अहिलेसम्म ठोस योजना नबनेको उनले बताए ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीले भने जेठी–माइलीमा पर्यटन प्रवद्र्धनका कार्यक्रम राखेकोले स्थानीयले पानी ल्याउन आनाकानी गरेको बताए । वडा अध्यक्ष कुबिर बिकको पहलमा चार बर्षअघि दुईवटा बस्तीमा पानी खुवाउन लघुविद्युत समेत उत्पादन गरिएको छ । तल्लो र उपल्लो व्याङग्रीमा ती बिद्युतबाट पानी तानेर खुवाइएको हो । तर त्यो पर्याप्त छैन । केन्द्रीय प्रसारण बिजुली नभएकोले नियमित पानी तान्न पनि नसकिएको बिकको गुनासो छ ।





