बागलुङ/ बागलुङ नगरपालिका–११ रायडाँडाका सर्वसाधारणले गाउँ रित्तिएकोप्रति चिन्ता व्यक्त गरेका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम उनीहरुले विकास निर्माणका अलवा सामाजिक पक्षहरुसँग जोडिएर चिन्ता व्यक्त गरेका हुन् ।
कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै गएको, यातयात भाडामा मनपरी भएको, गाउँमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नसकेको, बाँदर आतंक बढेको, उत्पादन घट्दै गएपछि भोकमरीको अवस्था आउन सक्ने भन्दै वडाबासीले चिन्ता व्यक्त गरेका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय शेरबहादुर थापा, यामप्रसाद गौतम, ओमबहादुर केसी, रत्नाकर पौडेल लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।
कार्यक्रममा जनताको गुनासो, चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, वडा नम्बर ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम र बागलुङ नगर स्वास्थ्य शाखा संयोजक रामप्रसाद खनालले जवाफ दिएका थिए । जनताको प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गरेका कामकारबाहीका बारेमा जानकारी दिन, नागरिकको गुनासो र सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरेको बताए ।
जनताका हरेक समस्यालाई आफूहरुले नजिकबाट बुझ्ने र सल्लाह सुझाव अनुसार आगामी दिनमा काम गर्ने बताए । नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई कामप्रति थप जिम्मेवार बनाउने प्रमुख श्रेष्ठको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गरेभने पत्रकार प्रकाश बरालले नागरिक सर्वेक्षण सन्तुष्टि प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रम बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता र पत्रकार महासंघ बागलुङका सहसचिव तारानाथ आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।
स्थानीय पालिकाको सुुशासन, पारदर्शीता र जवाफदेहिताका लागि नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको सहजीकरणमा सार्वजनिक सुनुवाईको भएको हो । सार्वजनिक सुनुवाईमा पहिलो चौमासिकमा १५२ वटा योजना सम्झौता गरिसकेको, हालसम्म पालिकाको बजेटको आय ६६ करोड भएको र खर्च ३० करोड रुपैयाँ भएको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिए ।





