बागलुङ/राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बिकास गर्ने र समृद्द देश बनाउने अभियानमा सरकारी, नीजि र समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् । सातौं बागलुङ महोत्सव उद्घाटन गर्न आएका पौडेलले स्थानीय परंपरा, घरेलु तथा साना उद्योगको प्रवद्र्धनबाटै नेपालमा समृद्धि आउने पनि बताए ।
राष्ट्रपति पौडेलले बिकास सँगै हिमाल जोगाउनुपर्नेमा जोड दिए । वातावरण संरक्षण सहितको बिकास मात्र दिगो हुने भन्दै पौडेलले हिमाल नरहेमा भविष्य पनि खतरा हुने संकेत गरेका थिए ।
हरेक नागरिकले बिकासको अनुभव गर्न सक्ने, प्रतिस्पर्धात्मक र प्रविधिमा आधारित बिकास गर्न उनले सुझाए । पूर्वाधार निर्माण सँगै लघु घरेलु उद्योगको बजार प्रवद्र्धन गर्नुपर्ने बताए । राष्ट्रपति पौडेलले हरित अर्थतन्त्र मार्फत समृद्धिको मार्ग खोज्नुपर्ने जोड दिएका थिए । उनले वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकुलन तथा असर न्युनिकरणलाई ध्यान दिएर बिकास गर्नुपर्ने बताए । पौडेलले वातावरण संरक्षण नभएमा देखिएका हिमऋखलाहरु नष्ट हुने खतरा औल्याए । हिमऋखला जोगाउन नसके वातवरण नै बिग्रने उनको तर्क थियो ।
महोत्सवको सफलताको कामना गरेका पौडेलले नेपालको बिकास साना तथा घरेलु उद्योगबाटै संभव हुने बताए । लघु घरेलु तथा साना उद्योगलाई बजार प्रवद्र्धन गर्न सकेमा साना साना व्यवसायी माथी उठ्ने भन्दै महोत्सवमा ती बिषयमा ध्यान दिनुपर्ने उनले सुझाव दिए । क्रेता र बिक्रेता एकै ठाउँमा जम्मा हुने अबसर सदुपयोग गर्दै बस्तुको उत्पादन र बजारीकरणमा महोत्सवको सफलताको कामना पनि गरे ।
पौडेलले गण्डकी प्रदेश सबै भन्दा सुन्दर भएको चर्चा गरे । संविधान निर्माणको क्रममा कोरला नाका देखि त्रिवेणी नाका सम्म जोड्ने गरी गण्डकी प्रदेश बनाउन भूमिका खेलेको उनले स्मरण गरेका थिए । राष्ट्रपति पौडेलले २०४६ सालको आन्दोलनमा बागलुङ कारागार बसेको स्मरण समेत गरे । त्यतिबेलाका सहयोद्दाहरुको नामै लिएर सम्झना गरेका थिए
बुधवारै राष्ट्रपति पौडेलल प्रसिद्ध बागलुङ कालिका भगवती, रंगवेंकटेश्वर मुक्तीनारायण मन्दिर र श्रीधराचार्य शालीग्राम संग्राहलयको पूजा तथा अबलोकन समेत गरेका थिए । पौडेलले बागलुङको इतिहासमा महोत्सव मार्फत आर्थिक बिकासको योजना ल्याउने पूर्व अध्यक्षहरु सहदेव राजभण्डारी, धु्रबराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारीलाई सम्मान गरे । बागलुङबाट अगाडि बढ्दै उच्च स्थानमा पुगेको भन्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रभुबैंकका अध्यक्ष देवीप्रकाश भट्टचन र सिइओ अशोक सेरचनलाई पनि सम्मान गरियो ।
अर्को प्रसंगमा नेपालीको रगत र पसिना बगाएर बनाएको संविधान कसैले निमोठ्न नसक्ने बताएका थिए । लाखौं नेपालीको आन्दोलनबाट स्थापित संविधानलाइ सदुपयोग गर्ने र देश बिकास गर्ने जिम्मेवारी सबैले बहन गर्नुपर्ने बताए ।
संविधान लेखनको क्रममा गरिएका संघर्ष र बलिदानीले अहिलेको गणतन्त्र संस्थागत गर्न समेत पहल गर्नुपर्ने बताए । उनले राजनीतिक परिवर्तन जस्तै देशमा अर्थतन्त्रको सुधार, प्रविधिको प्रयोग र उद्योगको बिकासमा जोड दिनुपर्ने बताए ।





