खर्वाङ (बागलुङ) /बडिगाड गाउँपालिका वडा २ खर्बाङको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा अध्ययनसंगै ३८ वर्ष शिक्षण गरेका होमनाथ अर्यालको परिवारले विद्यालयमा प्रवेशद्धारा निमार्ण गरिदिएको छ ।
गाउँपालिका २ सिमलचौर निवासी होमनाथ अर्यालले स्वर्गीय बुवा कुस्माखर अर्याल र सानीआमा लक्ष्मी अर्यालको स्मृतिमा व्यक्तिगत ३ लाख ९५ हजार लागतमा उक्त प्रवेशद्धार निर्माण गरिदिएका हुन ।
उक्त नवनिर्मित प्रवेशद्धारको विद्यालयको ६४ औँ वार्षिकोत्सवमा अवसरमा आयोजित कार्यक्रमको अवसर पारेर हस्तान्तरणसँगै समुद्घाटनसमेत गरिएको छ । प्रवेशद्धारको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले उद्घाटन गरिन् ।
२०१७ सालमा साविकको दगातुम्डाँडा गाविसको सिमलचौरमा स्थापना भएको विद्यालय साविकको दनियाँहँुदै खर्वाङमा स्थानान्तरण भएको थियो । त्रिभुवनमै कक्षा पाँचसम्म अध्ययन गरेका अर्यालले २०३६ सालमा एसएसली उत्तीर्ण गरेका थिए ।
२०४० सालबाटै त्रिभुवनमा शिक्षण गर्न लागेका होमनाथ अर्यालले २०४८ सालमा प्रावि द्धितीय क्षेणीमा स्थायी नियुक्ति लिएका थिए । त्रिभुवनमा अर्यालसहित उनका छोराछोरीले पनि अध्ययन गरेका हुन ।
“त्रिभुवनमा मैले मात्र हैन मेरा छोरा छोरीले पनि अध्ययन गरे । आफूले र आफ्ना छोराछोरीले पढेको विद्यालयमा केही गर्नुपर्छ भन्ने लागेर शिक्षण पेशमा हुँदा पनि सहयोग गरेको थिएँ,’ अर्यालले भने,‘अवकाशपछि विद्यालयमा नियमित नभए पनि आफ्नो र परिवारको सम्झनाको लागि प्रवेशद्धारा निमार्ण गरिएको हो ।”
प्रवेशद्वार हस्तान्तरण कार्यक्रममा सहयोगदाता होमनाथ अर्यालकी आमा बेलकुमारी अर्याल, विष्णुमाया अर्याल, छोराहरु विजय र विमल अर्याल, बुहारीहरु सर्मिला र सम्झना अर्याल तथा छोरीहरु अन्जु पाठक र अमृता पाठक लगायतको उपस्थिति थियो ।
विद्यालयले सहयोगदाता अर्याल परिवारलाई सोही अवसरमा सम्मानसमेत गरिएको विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले जानकारी दिए ।
न्यानो कपडा
परोपकारी संस्था हेल्पीङ हेण्डस समूहले त्रिभुवन नमूना माविका २० विद्यार्थीलाई न्यानो लुगा वितरण गरेको छ । बडिगाड गाँउपालिका २ खर्वाङको त्रिभुवन नमूना माविको ६४ औं वार्षिकोत्सवको अबसरमा बाह्र हजार बराबरको न्यानो लुगा वितरण गरेको गुरुपका संयोजक दिनबहादुर केसीले जानकारी दिए ।





