बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मुहार फेरेको महाविद्याजन

मुहार फेरेको महाविद्याजन


  • ढोरपाटन संवाददाता
  • पुष १३ २०८०, शुक्रबार

बागलुङ/ अक्सर रायडाँडामा समथर भुभाग भेटिँदैन् । खेती गर्न बनाईएका बारीका साँघुरा पाटा बाहेक घरगोठ र सार्वजनिक स्थलसमेत भिरालो जमिनमा छन् । पुर्खौंदेखि बसोबास गरेकाहरु जसोजतो यीनै संरचनामा दिन काटेका छन् ।

२०७२ यता रायडाँडामा रहेको महाविद्याजन माविमा लामो समय बिहानको प्रार्थना चलेन । पहिले भिरालो जमिनमा बनेका स–साना कक्षा कोठामा अध्यापन हुने विद्यालय भुकम्पको मारमा पर्यो ।

साँघुरो र भिरालो जग्गामा रहेको विद्यालय भूकम्पले थिलथिलो पारेकाले विद्यार्थी उभ्याउने ठाउँ समेत थिएन् । प्रार्थनाका लागि उभिने ठाउँ नभएको विद्यालय परिसरमा अहिले विद्यार्थी भलिवल खेल्छन् ।

विद्यालयको दक्षिण पूर्वको भागमा मात्रै तीन सय बढी तारजाली लगाएर जमिन समथर बनाईएको छ । पश्चिम र पूर्वमा पक्कि भवन बनेका छन् । उत्तरतर्फ गाउँ छ । पर्खालले घेरिएको विद्यालय परिसर चिटिक्क देखिन्छ । बागलुङ नगरपालिका–११ रायडाँडास्थित विद्यालयले लामो समय विद्यार्थीलाई टिनको छाप्रोमै अध्यापन गरायो । न खेल मैदान न राम्रो शौचालय, टिनले बारेको कक्षाको अध्यापनले विद्यार्थीलाई सास्ती थियो । तर, अहिले महाविद्याजनको मुहारै फेरिएको छ ।

अहिले विद्यालयमा भूकम्पले भत्काएको विद्यालय पुनः ठडिएको छ । विद्यालयमा १२ कोठाको विद्यालय सरोकारवाला निकायको सहयोगमा पुनःनिर्माण सम्पन्न भएको छ । मौजुदा दश कोठासहित २२ कोठा पक्कि बनेका छन्भने बाँकी चार कोठामा ट्रस हालिएको छ । खेल मैदानमा बालबालिकादेखि किशोरकिशोरीहरु चाहेको खेल खेल्छन् र रमाउन पाएका छन् ।
‘भौतिक संरचनाको अभाव हामीले लामो समय व्यहोर्यौं, अहिले संरचनामा केही कमी छैन्’ विद्यालयका प्रधानाध्यापक रामबहादुर केसीले भने ‘पहिले निकै सास्तीपूर्ण अवस्थामा पठनपाठन भए पनि केही बर्ष यता पठनपाठनमा सहज भएको छ ।’

भुकम्प पुननिर्माण प्राधिकरण, बागलुङ नगरपालिका र दातृ संस्थाको सहयोगमा विद्यालयका संरचना तयार भएपछि विद्यालयले काँचुली फेरेको केसी बताउँछन् । भिरालो र साँघुरो जग्गामा रहेको विद्यालय अहिले चिटिक्क परेको छ । विद्यालयमा खानेपानी पर्याप्त छ । सौचालय पक्कि छ । अन्य आवश्यक सबै पूर्वाधार तयारी अबस्थामा छन् ।

छ वटा आधारभुत विद्यालय रहेको रायडाँडामा महाविद्याजन मात्रै माध्यमिक विद्यालय हो । सबै विद्यालयबाट आधारभुत तह पुरा गरेपछि वडाका विद्यालर्थी यहाँ आउने गरेका छन् । विद्यालयमा अहिले १ सय ७९ जना विद्यार्थीले अध्ययन गर्छन् भने १७ जना शिक्षक शिक्षिका छन् । ‘यो अभिभावक विद्यालय पनि हो, हामीले यहाँ भौतिक संरचनाका लागि धेरै मेहनत गरेका छौं, अबको ध्यान शैक्षिक गुणस्तरमा केन्द्रित भएको छ’ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले भने ‘वडाको लिड विद्यालय बनाउने अभियानमा लागेका छौं ।’ वडाले विद्यालयहरुमा विद्यार्थीको संख्या घट्दै जान थालेकाले क्लस्टर छुट्टाएर आधारभुत विद्यालय चलाउने र महाविद्याजनलाई आवासिय विद्यालय बनाउने योजना अघि सारेको छ ।

‘रायडाँडा बिशेष क्षेत्र घोषणा भएको वडा हो, हामीले महाविद्याजनलाई लिड स्कुल बनाउन बिषेश क्षेत्र कार्यक्रममा प्रस्ताव गरेका छौं’ गौतमले भने ‘आवासीय विद्यालय वडाको लिड विद्यालय हुने छ ।’ भौगौलिक रुपमा विकट रहेको उक्त स्थानमा एक घण्टा पैदल हिँडेर विद्यालय आउने विद्यार्थी समेत छन् ।

बसाईसराई उच्च रहेको वडाका सबै विद्यालयमा जस्तै महाविद्याजनमा पनि विद्यार्थी संख्यामा कमी आउन थालेको छ । प्राबिधिक शिक्षाको सुरुवात गर्ने, आवासीय सुविधा उपलव्ध गराउने र विद्यार्थी तथा अभिभावकमा सचेतनाका कार्यक्रम सञ्चालन गर्दा विद्यार्थी संख्याले समस्या नपर्ने वडा अध्यक्ष गौतमको विश्वास छ ।

सदरमुकाम रहेको नगरपालिकाको वडा भएपछि जिल्लाका अन्य दुरदराजका वडाभन्दा रायडाँडामा विकास गर्नुपर्ने धेरै क्षेत्र छन् । विद्यालय, स्वास्थ्य संस्था र कृषि उत्पादनमा सुधारसँग सडक, सिंचाई र खानेपानीका क्षेत्रको विकासमा ध्यान दिएको गौतम बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->