शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नेत्रज्योति संघ म्याग्दीलाई २ करोड ५० लाखको जग्गा दान

नेत्रज्योति संघ म्याग्दीलाई २ करोड ५० लाखको जग्गा दान


  • हरिकृष्ण गौतम
  • पुष १४ २०८०, शनिबार

बेनी/ भौतिक संरचनाको अभावमा भाडा तिरेर सेवा दिइरहेको नेत्रज्योति संघ बेनीलाई एक दम्पत्तीले करिब साढे २ करोड बराबरको निःशुल्क जग्गा प्रदान गरेका छन् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याम घर भई हाल पोखरामा बस्ने समाजसेवी मुक्ति रोका र श्रीमति याममाया रोकाले नेत्रज्योति संघ बेनीलाई बेनीबजारस्थित कालिपुलको कित्ता नम्वर १००७ को ७ आना १ पैसा ३ दाम क्षेत्रफलको जग्गा हस्तान्तरण गरेका हुन् ।

सो जग्गाको हालको मूल्य २ करोड ५० लाख रहेको छ । शुक्रबार बेनीमा आयोजित कार्यक्रममा रोका दम्पतिले संघका सभापति अमर बानियाँलाई सो जग्गाको लालपूर्जा हस्तान्तरण गरे । हाल क्याम्पसचोकमा भाडाको कार्यालयबाट सेवा प्रदान गरिरहेको नेत्रज्योति संघलाई आफ्नै भवन निर्माणका लागि सहज भएको छ । जग्गादाता रोकाले २०६६ सालमा आफैले नेतृत्व गरेर हिमालयन आँखा अस्पतालसँग समन्वय गरी बेनीको रेडक्रस भवनमा आँखा उपचार केन्द्र संचालनमा ल्याएको विगत स्मरण गरेका थिए ।

‘बेनीमा आँखा उपचार केन्द्र संचालनको अनुमति लिनका लागि म पोखरा, काठमाडौँलगायत देशका विभिन्न ठुला आँखा उपचार केन्द्रहरुमा पुगेँ, अन्तत लामो मिहिनेतपछि हिमालय आँखा अस्पतालको अनुमतिमा बेनीको रेडक्रस भवनबाट आँखा उपचार केन्द्र सुरु गरियो, त्यतिबेला म रेडक्रसको सभापतिसमेत थिए,ँ’ रोकाले भने । उनले कलिलै उमेरदेखि समाजसेवामा सक्रिय रहेको बताउँदै रोकाले नेत्रज्योति संघलाई जग्गा सहयोग गर्न पाउँदा समाजसेवाको सवै भन्दा ठुलो सपना पुरा भएको बताए । जग्गामा भवन निर्माण गर्ने योजना अघि सारी आर्थिक संकलनको अभियान संचालन गर्नसमेत संघलाई आग्रह गरे । भवन निर्माणका लागि आफ्नो परिवारबाट सक्दो आर्थिक सहयोग हुने बताए ।

उनले अव आँखाका जटिल समस्या पनि जिल्लामै उपचार हुने गरी भौतिक संरचना र जनशक्ति व्यवस्थापन गर्नसमेत अनुरोध गरे । जग्गाको लालपूर्जा ग्रहण गर्दै संघका अध्यक्ष बानियाँले जग्गादाता रोका परिवारलाई आभार प्रकट गरे ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->