बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलाले बनायो आफ्नै श्रम रोजगार बैंक, ६७ कामदारले बैंकमार्फत् काम थाले

ताराखोलाले बनायो आफ्नै श्रम रोजगार बैंक, ६७ कामदारले बैंकमार्फत् काम थाले


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८०, बुधबार

बागलुङ / ताराखोला गाउँपालिकाले शहीद विश्व श्रम रोजगार बैंक स्थापना गरेको छ । शहीद विश्व श्रम रोजगार बैंक स्थापनाका लागि रोजगारआवद्ध श्रम सदस्यहरुलाई सपथ ग्रहणसमेत गराइएको छ ।

मंगलबार ताराखोला गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष धनबहादुर बिकले रोजगारमा जोडिएका ६७ जना युवालाई सपथग्रहण समेत गराएका छन् । उनले युवा रोजगार मात्र नभइ सामाजिक सुरक्षाको दृष्टीले पनि दिगो व्यवस्थापनको कार्यविधि ल्याएर यो काम थालिएको बताए ।

मंगलवारै श्रममा जोडिएका युवालाई गाउँपालिकाले अभिमुखीकरण समेत गराएको छ । गाउँपालिका भित्रका सबै बिकास निर्माणमा एकद्वार प्रणाली लागू गर्न तथा युवालाई समान रुपमा रोजगारीका अवसर सिर्जना गर्दै उनीहरुको भविष्य पनि सुरक्षित गर्न गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो ।

त्यसका लागि युवाहरु गाउँपालिकाले तोकेको कार्यविधिमा रहेर रोजगारीमा प्रवेश गर्नेछन् । यसरी प्रवेश गरेका युवाले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमबाट पछि पेन्सनसमेत पाउने व्यवस्था छ । यो व्यवस्थाकालागि कामदारले १० देखि ११ प्रतिशत र गाउँपालिकाले २० देखि २१ प्रतिशतसम्म लगानी गर्नेछ । कोषमार्फत् उनीहरुको स्वास्थ्य शिक्षा र अन्य सेवाकालागि पनि पालिकाले लगानी गर्ने बताइएको छ ।

यो रकम सुरक्षा कोष मार्फत बिरामी र दुर्घटना परेमा उपचार सेवा पाउनेछन् । उमेर पुगेर निवृत्त भएमा पेन्सन सुविधा पनि पाउने अध्यक्ष बिकले जानकारी दिए ।

ताराखोलाका पहिलो सहिद विश्व गौचनको संझनामा गाउँ परिषले यो काम गर्ने निर्णय गरिसकेको थियो । अहिले कार्यविधि समेत बनाएर लागू भएको प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।

गाउँपालिका भित्रका २ हजार २ सय घर धुरीका कम्तिमा एक घरको एकजना अनिवार्य श्रममा जोडेर यो अभियान पुर्णता दिने अध्यक्ष बिकले बताए । फर्निचर उद्योग, ढुंगा उद्योग, कृषि, सडक, खानेपानी, सिंचाइ तथा भवन निर्माणका सबै काम स्थानीय श्र।मक प्रयोग हुनेछ ।

‘रोजगारी खोज्दै बिदेशिने युवा घटाउने, सीप, कला कौशालका क्षमता बढाउने, स्थानीय तहमै श्रमको व्यवस्था गर्ने, सोही अनुसार पारिश्रमिकको व्यवस्थापन गर्ने र आर्थिक विकासमा गाउँपालिकालाई सक्षम बनाउने दीर्घकालीन योजनासहित यो अभियान थालिएको बिकले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै संघीय सांसद तथा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले यो महत्वपूर्ण विषय भएकोले अन्य पालिकाले पनि अनुशरण गर्नुपर्ने बताए । .पौडेलले युवालाई गाउँमै रोजगारी दिने यो महत्वपूर्ण अभियान हो,’ उनले भने, ‘जनप्रतिनिधिहरु श्रम र रोजगार प्रति कति संवेदनशिल छन् भन्ने ताराखोलाले देखाएको छ ।’ पौडेलले राज्यले पनि यो अभियानबाट सिक्नुपर्ने बताए ।

पौडेलले कतिपय श्रम र रोजगारका कानून बनाएर लागू गर्न संघिय सरकरा पनि तयार बन्नुपर्ने बताए । उनले विकास निर्माणमा अर्बौ लगानी भए पनि स्थानीय श्रमिकले रोजगारी नपाएको भन्दै अब विदेशै जानुपर्छ भन्ने मान्यता तोडिने बताए ।

‘हरेक वर्ष आउने बजेटले रोजगारी सिर्जना गर्न सकेको थिएन, यस्ता कामले बल्ल ती बजेट सदुपयोग हुन्छ,’ पौडेलले भने, ‘अब सरकारको प्राथमिकता पनि श्रम र रोजगारी नै हो ।’ ठूला आयोजना बनेर बिजुली पुग्न लागिसक्यो, यातायात पनि ढीलै भएपनि बनेको तर श्रम र रोजगार अभाव भएकोमा यस्ता कामले उत्पादन बढाएर आर्थिक बिकासमा योगदान पुग्ने बताए ।

गाउँपालिकाको यो अभियानमा महिला कामदारले पनि भाग लिनेछन् । उनीहरु सुत्केरी हुँदा बिदा पाउने गरी कर्याक्रम बनेको उपाध्यक्ष भीमबहादुर रोकाले बताए । कामदार वा उनको घरका सदस्यको मृत्यु भएमा २५ हजार काजक्रिया खर्च दिने, श्रममा जोडिएका पति वा पत्निको मृत्यु भएमा आजिवन पेन्सन पाउने व्यवस्था छ ।

घाइते भएर काम गर्नै नसक्ने असक्त भएमा पनि आजिबन पेन्सन दिने व्यवस्था भएको हो । कार्यक्रममा पूर्वमन्त्री चन्द्रबहादुर बुढा, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतले पनि यो अभियानको शुभकामना दिएका थिए । ताराखोलाले ल्याएको यो कार्यक्रम नेपालमै नमूना प्रकारको भएको सहभागीले बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->