बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका, ३ धम्जामा स्थानिय जडिबुटीको पहिचान संरक्षण र प्रयोग सम्बन्धि अभिमुखीकरण गरिएको छ । धौलागिरी आयुर्वेद औषधालयले सर्वसाधारणलाई स्थानीय जडिबुटीको पहिचान र प्रयोगमा प्रोत्साहन गर्न काठेखोला गाउँपालिका सँगको सहकार्यमा अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा स्थानिय जनप्रतिनिधी, कर्मचरीसहित स्वयंसेविका, बन समूहका प्रतिनिधि, सहकारी समुहका प्रतिनिधि र स्थानीय तहमा क्रियाशील विभिन्न पार्टि प्रतिनिधि को सहभागिता रहेको थियो । ५५ जनाको सहभागिता रहेको कार्यक्रममा डा.शरद पन्थी र डा. कमल बिक्रम पौडेलले आयुर्वेद चिकित्सा सेवा, जडिबुटी संकलन संरक्षण प्रयोग विधि, स्थानीय जडिबुटीको उपयोग र सेवन योग्य अवस्था, हाम्रो भान्छा र वरिपरिको जडिबुटी प्रयोग, महत्व र प्रयोगमा साबधानी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा वडा अध्यक्ष कुल बहादुर बिकले आयुर्वेद शिक्षा र जडिबुटीको पहिचान अहिलेको आवश्यकता भएको बताए । उनले स्थानीय जडिबुटीको पहिचानका लागि वडाले पहल गर्ने प्रतिबद्धता जनाए । वडा सदस्य प्रेम बहादुर घर्तिमगरले सूचना मुलक र जीवन उपयोगी ज्ञान मुलक कार्यक्रम गाउँका हरेकका घर घरमा पुग्नुपर्ने बताए ।
धौलागिरी आयुर्वेद औषधालयका प्रमुख डा.शरद पन्थीको अध्यक्षता र डा.कमल बिक्रम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





