बागलुङ/केही वर्षअघिसम्म सुत्केरी हुने बेला गोठ खोज्ने बज्रबाङ र स्याउलाका महिलाहरु अहिले गर्भ रहेको थाहा पाएदेखि स्वास्थ्य चौकी धाउँछन् । आठ टक गर्भ जाँच गर्ने, स्वास्थ्य चौकीमै सुत्केरी हुने भन्ने यहाँका सबै महिलालाई थाहा छ ।
गाउँमा चालु आर्थिक बर्ष सुरु भएपछि मात्रै १५ जना भन्दा धेरै सुत्केरी भए । सबै सुत्केरी सुरक्षित स्वास्थ्य संस्थामा भएका हुन् । तमानखोला गाउँपालिकाको वडा नं. १ मा पर्ने यी गाउँहरुमा एउटा सक्रिय आमा समूह छ । गर्भवती र सुत्केरी तथा नवजात शिशुको जीवन रक्षाका विषयमा बुझेको आमा समूहले नौलो अभियान चलाएइको छ । यी गाउँहरुमा अहिले घरमा सुत्केरी हुन पाइँदैन् । कसैले अटेरी गरे परिवर्तनशील स्वास्थ्य आमा समूह सुत्केरीकै घरमा पुग्छ र कालोटीका लगाइदिन्छ ।
घरमै सुत्केरी भए गाउँघरमा अशुभ मानिने कालोटीका लगाउनुपर्ने भएकाले दुई वर्षयता घरमा सुत्केरी हुनेको संख्या सुन्य छ । ‘गर्भजाँच नगरे पनि पहेँलोटीका लगाउनुपर्छ, आठपटक गर्भ जाँचेर स्वास्थ्य चौकीमा सुत्केरी भए बल्ल रातोटीका लगाउन पाइन्छ,’ बज्रबाङकी स्थानीय रविना बिकले भनिन्, ‘मैले पनि सबै जाँच पूरा गरेर स्वास्थ्य संस्थामा बच्चा जन्माएको हो ।’
आमा समूहले यो अभियान सुरु गरेदेखि कोही पनि घरमा सुत्केरी भएका छैनन् । घरमा सुत्केरी हुँदा आमा र बच्चाको स्वास्थ्यमा हुन सक्ने जोखिमको विषयमा सबै महिलाले जानकारी पाएका छन् । यहाँका पुरुषहरुले पनि आमा समूहको यो अभियानलाई सहयोग गरेको छ ।
गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भए । सरकारी र गैरसरकारी संस्थाहरुबाट भएका प्रयास यहाँको परम्परागत मान्यताका कारण सफल हुन सकेका थिएनन् । तर, अहिले समूहमा आबद्ध भएका महिलाहरु आफैंले कालोटीकाको नियम लगाएका हुन् ।
‘आफैंले बनाएको नियम आफैंले नमान्न र्पाएन नि,’ बज्रबाङकी स्वास्थ्य स्वयंसेवीका रुपमायाँ घर्तीले भनिन्,‘अहिले गर्भवतीहरु खोजी खोजी स्वास्थ्य संस्था जाने गरेका छन् ।’ यो आमा समूहले गर्भवती, सुत्केरी र नवजात शिशुका विषयमा सचेतनाका कार्यक्रम, पोषणसम्बन्धी सचेतनाका कार्यक्रमसमेत चलाउने गरेका छन् । गाउँमा भएका गर्भवती र सुत्केरीको विषयमा जान्न बुझ्न यो आमा समूहको नियमित बैठक हुन्छ । त्यही बैठकले सबै आमा बच्चाको सुरक्षित भविष्यको विषयमा योजना बनाउँछ र कार्यान्वयन गर्छ ।
तीनवर्ष पहिले तमानखोला गाउँपालिकाले बज्रबाङमा गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको छ । बिवाईसी बागलुङसँग मिलेर त्यहा क्लिनिकका लागि भवन बनेको छ । गर्भजाँचका लागि बोंगादोभान स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी त्यहीँ पुग्छन् । त्यहाँबाट बोंगादोभान पठाइएका गर्भवती त्यहाँ सुत्केरी हुन नसक्ने अवस्था आए बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइन्छ । त्यहाँ पुग्न गाउँपालिकाले यातायात खर्च दिन्छ । त्यहाँभन्दा बाहिर जाँदा दश हजार रुपैयाँ खर्च गाउँपालिकालेनै दिने गरेको छ ।
‘बर्थिङ सेन्टर भएकाले गाउँपालिकाभरीकै गर्भवती यहाँ आउनुहुन्छ, होम डेलीभरी सुन्यमा झारेका छौं’, बोंगादोभान स्वास्थ्य चौकीका अहेव रविना बुढा मगरले भनिन् ‘अहिले गाउँपालिकाले चिकित्सक समेतको व्यवस्था गरेकाले धेरै सजिलो हुन्छ ।’ स्वास्थ्य संस्थामा आएका अधिकांश गर्भवतीलाई समयमा नै समस्याको पहिचान गर्ने र अन्यत्र पठाउनुपर्ने भए समयमै पठाउने गरेको उनले सुनाइन् ।





