बागलुङ / बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षकालािग गत असारको तेह्रौ नगरपरिषदबाट बिनियोजन गरेको पूर्वाधार योजनाको ३ करोड ३५ लाख कटौती गरेको छ । बरु त्यसबाट वडै पिच्छे बढीमा ३ वटा योजना ल्याउने गरी १५ लाख रुपैयाँ बिनियोजन गरेको छ ।
बिहीवार भएको १४ औँ नगरसभामा उपप्रमुख राजु खड्काले रकमान्तर गरेको जानकारी दिए । बजेट रकमान्तर गर्दा हाल निर्माण गर्ने भनिएको ग्रिन रोड, पार्किङ व्यवस्थापन, बजार सौन्दर्यीकरण जस्ता काम स्थगित भएका छन् । रकमान्तरबाट बच्ने बजेट कार्यालय संचालन, मेशिनरी औजार खरिद तथा सवारी साधन खरिदमा खर्च हुनेछ ।
‘दैनिक कार्यसञ्चालनका क्रममा आवश्कता महसुस भएका तथा राजश्व संकलन कार्यमा सहयोग पुग्ने शीर्षकमा रकम बढाइएको छ,’ उपप्रमुख खड्काले भने, ‘करको दायरा बढाउने नीति भएकोले कतिपय स्थानमा लगानी पनि गर्नुपर्नेछ ।’
नगरपालिकाले सबै वडाबाटै कर तथा राजश्व संकलनको व्यवस्थापन गरेको छ । माघ १ गतेदेखि लागू हुने गरी वडाबाटै राजश्व संकलन थाल्ने नीतिगत व्यवस्था भैसकेको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले जानकारी दिए । १० लाख भन्दा माथीका योजना नगर स्तरीय संयन्त्रले अनुगमन गरेपछि मात्रै भुक्तानी दिने व्यवस्था गरेको उनको भनाइ छ ।
पूर्वाधार निर्माण तर्फ बिनियोजित बजेटबाट पुस २० गते सम्ममा १ हजार ८ सय ४६ मिटर सडक कालोपत्रे गरेको, रोड मार्किङ गरेको, अव्यवस्थित तार र पोल हटाएको, सडक पेटी खाली गरेर फुटपाथ निर्माण थालिएको, ४ सय थान सडक बत्ति बालिएको तथा यहाँका अग्ला झोलुंगे पुलमा बत्ती जडान समेत भएको श्रेष्ठले जानकारी दिए ।





