शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

एकल महिला कर्णकुमारी : जसले बगैचाबाटै बेच्छिन् ११ लाखको सुन्तला

एकल महिला कर्णकुमारी : जसले बगैचाबाटै बेच्छिन् ११ लाखको सुन्तला


  • हरिकृष्ण गौतम
  • पुष २७ २०८०, शुक्रबार
बेनी नगरपालिका–३ मरेककी कर्णकुमारी आफ्नै सुन्तला बगैचामा तस्वीर: हरिकृष्ण गौतम

म्याग्दी/घरआगन नै ढाकिने गरी सुन्तलाको बोट । खोल्सा, भिरालो जमिन र बारीका डिलमा लटरम्म फलेका सुन्तलाा । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी कर्णकुमारी पुर्जा पुनको घरको आगनबाट जता हेर्यो, उतै लटरम्म सुन्तला ।

कुनैसमय आर्थिक संकटले गुज्रिएको अवस्थामा घरव्यवहार टार्न सुन्तला रोपेकी कर्णकुमारीको बगैचा अहिले सुनजस्तै पहेँलपूर छ । परम्परागत खेतीबाली लगाउन छाडेर करिब १८ बर्ष अगाडी२ सय बोट बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलो उत्पादन बेचेर १६ सय कमाइन् ।दोस्रोबर्ष ३५ सयको सुन्तला बेचेर थप बिरुवा खरिद गरेकी कर्णकुमारीले ८ रोपनी क्षेत्रफलमा सुन्तला बगैचा फैलिएको छ । कुनैबर्ष रोगले सुन्तला सखाप हुदाँ निराश भएपनि हरेस नखाएकी कर्णकुमारीले यस वर्ष ११ लाखको सुन्तला फलाइन् ।

गतबर्ष ९ लाख ७२ हजारको सुन्तला बिक्री गरेकी एकल महिला कर्णकुमारीको बगैंचाको बोटमै ब्यापारीले खरिद गर्छन् । बेनी नगरपालिका–३ भकिम्लीमा सबैभन्दा धेरै सुन्तला उत्पादन गर्ने कृषकमा पर्ने कर्णकुमारीले सुन्तला बेचेर घरखर्च,छोरीहरूको शिक्षादिक्षा,विवाह लगायतका घरायसी खर्चसँगै बचत समेत गरेकी छन्।

बि.स२०६७ साल चैत्र महिनामा आंतकारीको आक्रमणबाट अफगानिस्तानमा रहेका श्रीमानलाई गुमाएकी कर्णकुमारीले सुन्तलाको कमाइले घरखर्च चलाउन सहज भएको बताईन् ।‘सन्तानलाई जस्तै मायाँ गरी हुर्काएका बोटको अम्दानीबाट सन्तुष्ट छु,‘ सुन्तलाको रेखदेखका गर्दागदै धेरै रात बगैचामै विताएकी छु’कर्णकुमारीले भनिन्। उनले घरआगन, पाखामा लटरम्म सुन्तला फल्न थालेपछि अहिले घरखर्च चलाउन कुनै समस्या नभएको बताईन् । श्रीमानको रोजगारीको सिलसिलामा निधन भएपछि घरखर्चका लागि सुन्तलाको कमाइले सहज भएको कर्णकुृमारीको भनाई छ ।

’मेरो बाँच्ने आधार नै सुुन्तलाको कमाई हो, दुई छोरीलाई पनि यहीबाट सहयोग गर्छु,सुन्तला खेतीलाई पेन्सनका रुपमा लिएको छु,’ कर्णकुमारीले भनिन् । ‘सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ’,उनले भनिन्, ‘एकपटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ, सामान्यरुपमा बगानको हेरचाहमात्र गरे धेरै दुःख गर्न पर्दैन’ कर्णकुमारीले भनिन् । उनले बिरामी हुँदा र भैपरी आउँदा कसैसँग हात थाप्नुपर्ने अवस्थाको अन्त्य सुन्तलाको कमाईले गरिदिएको बताईन् । उनले महिलाले घरखर्च चलाउन श्रीमान, छोराछोरीमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफूल र तरकारी खेती गरे पुग्ने बताइन् । मरेकका अगुवा कृषक पदमबहादुर खत्रीले कर्णकुमारीले पुरुषले भन्दा धेरै सुन्तलाबाट कमाउने गरेको बताइन् । ‘एक महिलाले गरेको मेहनत उहाँको बगैचामा गए पुग्छ, घरमै बसीबसी लाखौं कमाउनुहुन्छ,’ कृषक खत्रीले भने ।

बाहिरी जिल्लाबाट आएका ब्यापारीले स्थानीय कृषकको बगैंचामा पुगेर टिप्न,बोक्न, ग्रेडिङ गर्न र क्यारेटमा मिलाएर बजारमा लैजादाँ पहिलो रोजाईमा कर्णकुमारीको बगैंचा पर्छ । मरेक र बालम गाउँबाट यसबर्ष करिब ७० लाख बराबरको सुन्तला फलेको अनुमान गरिएकोमा कर्णकुमारीसँगै अर्की एकल महिला जमुना थापा क्षत्रीले समेत ९ लाखको सुन्तला फलाएकी छन् । सुन्तलाका दाना राम्रा, रसिला र मीठा भएकाले पनि ठूला ट्रक लिएर व्यापारीहरू टाढाटाढाबाट आउन थालेको वडा अध्यक्ष पदमबहादुर पुनले बताए । ‘महिलाको आम्दानी पुरुषभन्दा धेरै छ, सुन्तलाले आर्थिकरुपमा महिला शक्तिशाली भएका छन्,’ वडा अध्यक्ष पुनले भने । भकिम्लीबाट साढे २ करोडको सुन्तला बिक्री हुनेमा करिब आधाभन्दा धेरै महिलाकै सक्रियतामा ब्यवस्थापन भएका बगैचा रहेको वडा अध्यक्ष पुनको भनाइ छ । उनले भकिम्लीका सबै सुन्तला खेती हुने गाउँमा सडक सञ्जाल पुगेको छ। म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुने कृषि ज्ञान केन्द्रले जनााएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->