बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

फरार ढोरपाटनका मेयर देवकुमार सम्पर्कमा आए, भने-‘३ अर्बको सम्पति दिएर बचतकर्ताको रकम फिर्ता गर्दैछु’

फरार ढोरपाटनका मेयर देवकुमार सम्पर्कमा आए, भने-‘३ अर्बको सम्पति दिएर बचतकर्ताको रकम फिर्ता गर्दैछु’


  • उजिर मगर
  • पुष २७ २०८०, शुक्रबार

काठमाडौं / सहकारीको बचत फिर्ता गर्न नसकि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । पोखरा, बागलुङ, गल्कोट र बुर्तिबाङमा ईमेज सहकारीमा बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकि उनी ९ महिनादेखि भूमिगत बनेका थिए ।

आफ्नो नाममा रहेको ३ अर्ब बढि घर-जग्गा र सम्पत्ति चारै ठाउँको ईमेज सहकारीको नाममा नामसारी गर्ने तयारी गरेको उनले बताए । फरार भएको ९ महिनापछि ढोरपाटन दैनिकका लागि पत्रकार उजिर मगरसंग कुरा गर्दै नेपालीले भने- ‘काठमाडौं, पोखरा, बागलुङ र बुर्तिबाङमा गरी १८ घरसहित जग्गाहरु सहकारीकै नाममा दिन मञ्जुर छु । त्यसको बजार मूल्य ३ अर्ब रुपैयाँ माथि हुन्छ । बचतकर्ताहरुको हितमा म जिरोमा झरेर सबै सम्पत्ति सुम्पने तयारी गरेको छु । यसका लागि कानुनी प्रक्रिया मिलाउनु प¥यो ।’

ईमेज सहकारीलाई सञ्चालनमा लिएर आफ्नो नाममा रहेको सबै घर÷जग्गा र सम्पत्ति सहकारीको नाममा नामसारी गर्न आफ्नो कानुनी सल्लाहकार मार्फत बचतकर्ताहरुको संघर्ष समितिसँग काम भइरहेको उनले बताए । ‘महंगो ब्याजमा बचत लिई ब्याज दिंदा कारोबार बिग्रिएको हो । आर्थिक तरलताको असर मलाई पनि प¥यो । म जनप्रतिनिधि भएका नाताले बचतकर्तालाई धोका दिन खोजेको होइन । जनधन सुरक्षाका लागि केही महिना सम्पर्कबिहिन हुन पुगेको मात्रै हो’, नेपालीले भने ।

काठमाडौं, पोखरा, बागलुङ, बुर्तिबाङ सहरका व्यापारिक केन्द्रमै मल, होटल, घरहरुको तथ्याङ्क, तस्वीर देखाउँदै नेपालीले भने– ‘मैले बचतकर्ताको पैसा हिनामिना गरेको छैन । १२ वर्षसम्म बचतकर्ताको मन जितेरै काम गरेको हूँ । त्यही विश्वासलाई गुम्न नदिन मेरो र मेरो श्रीमतीको नाममा रहेका घर-जग्गा सम्पत्ति सबै ईमेज सहकारीको नाममा नामसारी गर्न मञ्जुर छु । सहकारीले त्यसलाई बेचबिखन गरेर बचत फिर्ता गर्छ ।’

मेयर नेपाली उनका कानुनी सल्लाहकार मार्फत बचतकर्ताहरुको संघर्ष समितिमा प्रस्ताव आएपछि सहकारी ब्यूत्याउने भनि बचतकर्ताहरुले आम भेला गरिरहेको छन् । पुस २६ गते बुर्तिबाङ र गल्कोटमा भेला सम्पन्न भइसकेको छ । बागलुङ बजारमा माघ ६ गते र १० गते पोखरामा बचतकर्ताहरुको आम भेलाको आव्हान गरिएको संघर्ष समिति बागलुङका सदस्य शेखर खड्काले बताए ।

‘सम्पन्न भएका भेलाले सहकारी ब्यूत्याउने कुरामा एक मतले निर्णय पारित गरेको छ । ढोरपाटन बुर्तिबाङ र गल्कोटमा सम्पन्न भइसकेको छ । यहाँ (बागलुङ) माघ ६ गते र पोखरा १० गते भेला बोलाइएको छ’, खडकाले भने । मेयर नेपालीको कानुनी सल्लाहकार मार्फत मेयर नेपालीको प्रस्ताव आएको खड्काले स्वीकारे । उनले भने– ‘पहिले सहकारी ब्यूत्याउने र सबै कुरा हल गर्दै जाने भन्ने प्रस्ताव आएको छ । त्यसका लागि बचतकर्ताहरुको तर्फबाट राय र सहमति लिनका लागि भेलाको आयोजना गरिएको हो ।’

बचतकर्ताहरुको रकम आफूले दुरुपयोग नगरी लगानीका रुपमा रहेको नेपालीले जिकिर गरे । उनले भने– ‘बुर्तिबाङमा ५० एसीसहितको रुम भएको होटल छ । हेलिप्याडसहितको खुला ठाउँ भएको । त्यस्तो ठाउँ साबिक धौलागिरि अञ्चलमै छैन । थप बजार पायक पर्ने चार÷पाँचवटा घर नै छन् ।’

उनले यसअघि कात्तिक ३० गतेको मितिमा वक्तव्य ड्राफ्ट गरी मंसिर ४ गते फेसबुक लाइभमा भिडियोसहित सोही वक्तव्य बाचन गरेका थिए । सो विज्ञप्तिसहित उनले आफ्नो र श्रीमती छेला नेपालीको नाममा रहेको घर÷जग्गाहरुको कित्ता नम्बरसहित सम्पत्ति सार्वजनिक गरेका थिए ।

‘मेरो र श्रीमतीको नाममा रहेको सबै सम्पत्ति सार्वजनिक गरिसकेको छु । बजार भाउको हिसाब–किताब गर्दा पनि ३ अर्ब माथि हुन जान्छ । बचतकर्ताहरुलाई त्यही बेचबिखन गरी बचत फिर्तासँगै बैंकिङ्ग कारोबार पनि निवारणका लागि सहजीकरण गर्नका लागि पनि आव्हान गर्दछु’, उनले भने- ‘कानुनी अप्ठ्याराका कारण म भौतिक रुपमा उपस्थित हुन सकेको छैन । तथापि बचतकर्ता र ढोरपाटनबासीहरु निर्धक्क भएर बचत फिर्ता र जनताको काम गर्ने मनसायले यो काम गर्दैछु भन्ने सन्देश दिन्छु ।’

कतिपय कानुनी अड्चन, सहकारी ऐनहरुलाई खुला गरेर बचतकर्ताहरुको बचतलाई सुरक्षाका निम्ति राज्यलाई सहयोग गर्न समेत उनले आग्रह गरे । ‘कतिपय कानुनी अप्ठयारा छन् भने त्यसलाई फुकाएर बचतकर्ताको बचत सुरक्षा लागि मैले सबै घर÷जग्गा, सम्पत्ति सहकारीकै नाममा दिन तयार छु । यसमा राज्यले हाम्रो बाध्यता बुझेर समस्या समाधन गर्छ भन्ने आत्म विश्वासका साथ यो कदम चालेको छु । मेरो कदमलाई मेरा सबै शुभचिन्तकहरुले स्वीकार्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’

आफु ९ महिना भूमिगत हुनुको पृष्ठभूमि सबैलाई अबगत भएकाले व्यक्तिगत, पार्टी राजनीतिक, सामाजिक रुपमा कसैसँग प्रतिशोध नभएको र आफूप्रति पनि प्रतिशोध नसाँध्न सबै पक्षलाई मेयर नेपालीले आव्हान गरे । ‘बचतकर्ताहरुको पीडा मलाई पनि थाहा छ । पार्टी राजनीति, सामाजिक रुपमा जे जति क्षति पुगेको छ, त्यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु ।

‘यि सबै परिस्थितिजन्य परिघटनाका उपज हुन । यि सबै कुराको बोध गरेर समस्याको समाधान हुनेमा सम्पूर्ण बचतकर्ता, ढोरपाटनबासी आम मतदाताहरु विश्वस्त हुन पुनः आव्हान गर्दछु’, आफ्नो व्यक्तिगत, पार्टीको राजनीतिक, सामाजिक क्षति र मतदाताको मन दुखेको सन्दर्भ औंल्याउँदै नेपालीले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->