बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

युद्धले खुट्टा खोसेपछि पलाएको सपना

युद्धले खुट्टा खोसेपछि पलाएको सपना


  • तारानाथ आचार्य
  • पुष २९ २०८०, आइतबार

बागलुङ/ कात्तिकको महिना, गाउँमा कामको माचो थियो । खेतमा पाकेको पहेँलपुर धान भित्र्याउन गाउँलेलाई भ्याइनभ्याइ ।

गुल्मीबाट कामको खोजीमा बागलुङको ग्वालिचौर झरेका भीमबहादुर बिक ‘तानातान’ मा थिए । काखमा एक महिनाको छोरा च्यापेर बसेकी सुत्केरीको दानापानी जुटाउनु छँदै थियो । २०५९ साल कात्तिक २५ गते बागलुङको बडिगाड गाउँपालिका, ५ ग्वालिचौरको दारेगौंडामो दाइँमा खेताला बने ।

सुत्केरीलाई साँझ बिहान खानका लागि दाना लिएर फर्किने बाचासहित बिहान घरबाट निस्केका भीमबहादुरको जीवनमा एकाएक अध्याँरो छायो ।
जनयुद्ध चरम उत्कर्षमा पुगेको बेला थियो । ग्वालिचौरको दारेगौंडामा गस्तिमा रहेको नेपाली सेनामाथि विद्रोही पक्षले विद्युतीय धराप आक्रमण ग¥यो । दाईंका दाइँका गोरु थपाइरहेका भीमबहादुरले एकैपटक जमिन थर्किनेगरी ठूलो आवाज सुने । आवाजको गति मथ्थर नहुँदै उनको बायाँ खुट्टाको घुँडामाथि गोली लाग्यो । खुट्टाको मुल नसा नै चुँडायो । क्षणभरमै खेतमा काम गरिरहेका भीमबहादुर दाइँ भएकै ठाउँमा पल्टिए ।

घटनामा दुईजना नेपाली सेनाका जवान मारिए । धराप पड्केर आफ्ना जवानको मृत्यु भएपछि सेनाले अन्धाधुन्ध गोली चलायो । ‘आँखै अघि धेरै जना ढले, कोही मजस्तै घाइते भए, कसैले संसारै छोडे,’ बिक भन्छन् ‘मेरो त सर्वस्व सकियो, झण्डै छोराछोरी टुहुरा भएका ।’ घटनामा ११ जना सर्वसाधारण मारिए । बाँकी ६ जना घाइते भएका थिए । घाइतेमध्ये खिमबहादुर जिसीको २०६० सालमा उपचारकै क्रममा मृत्यु भएको नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक राजिव घिमिरे बताउँछन् । भीमबहादुर, खुसीराम बिकलगायतका घाइते अहिले पनि दुःखजिलो गरेर जीवन बिताइरहेका छन् ।

‘कपडाको टालो बाँधेर एक महिना गोली जसोतसो चलेँ । गोली खुट्टामै थियो । उ बेला कसले उपचार गरिदिने ? खर्च पनि त थिएन,’भीमबहादुर ती दिन सम्झँदै भन्छन्,‘ ‘एक महिनापछि उपचार त भयो तर नसो सोझिएन् ।’ गण्डकी अस्पताल पोखरामा सामान्य उपचारपछि घर फर्किएका भीमबहादुरको अहिले पनि देब्रे खुट्टा चल्दैन् । वैशाखीको भर पर्नुपर्छ ।

तीन छोरी र दुईजना छोराका बाउ नै असक्त भएपछि परिवार पाल्ने जिम्मेवारी आमा सुमित्राको काँधमा आइप¥यो । निमेक नै गरेर उनले छाक टारिन् । कहिले स–साना छोराछोरी बोकेरै मेलामा पुग्ने त कहिले एक्लै मेलापात गरेर घर खर्च चलाएको सुमित्रा सम्झिन्छिन् । घटना भएको २१ वर्ष बित्यो । युद्धरत माओवादी र सरकारबीच शान्ति सम्झौता भयो । सम्झौतापछि भीमबहादुरले पनि एकपटक सरकारबाट एक लाख रुपैयाँ राहत प्राप्त गरे । ‘गाउँकै एक जना सरले कागज बनाउनेदेखि सबै काम गरिदिनुभयो, बजार जाँदा–आउँदा खर्च दिनुभयो,’ बिक सम्झिन्छन् ‘तीस हजार खर्च भएको रहेछ, ७० हजार हात लाग्याथ्यो ।’

भीमबहादुर भूमिहीन हुन् । बडिगाड गाउँपालिका, ५ मा रहेको अहिले उनको घरपनी सार्वजनिक जग्गामा छ । तीनजना छोरीको बिहे भयो । घाइते हुनेबेला एक महिनाका बिष्णु बिक अहिले २१ वर्षका भए । तर, परिवारका दुःख हरिएका छैनन् ।

‘जेठो भारतमा सामान्य काम गरेर आफ्नो खर्च चलाएको छ, कान्छो घरमै छ, निमेक पाहुर गर्ने बाहेक हाम्रो आम्दानी केही छैन,’ सुमित्राले भनिन्,‘हाम्रो लागि त भगवान पनि बैरी बनेर आयो, घर धान्ने मुलीलाई नै उमेर छँदै ढलायो ।’

भीमबहादुरले वैशाखीकै सहारामा धेरै काम गर्ने प्रयास गरे । कहिले चोयाका सामग्री बनाउने त कहिले बसेरै गर्न सकिने कामको खोजी गरे । तर, उनले कामबाट जस पाएनन् । भीमबहादुरले कुनै ठूलो सहयोगको आशा गरेका छैनन् । तर, जीवन गुजार्ने सीप खोजेका छन् । थोरै लगानी, थोरै मिहिनेतले राम्रो आम्दानीको स्रोत खोजीरहेका भीमबहादुर आजभोली च्याउ खेति गर्न थालेका छन् ।

ग्रामीण स्वास्थ्य सुधार परियोजनाले उनलाई च्याउ खेतीको तालिम दियो । बीऊ दियो र बीऊपूँजी पनि । घरछेउमै सानो घर निर्माण गरेर च्याउ खेती थालेका भीमबहादुर बाँच्ने आधार त्यही खेती बनाउन चाहन्छन् । ‘सजिलो काम भएकाले मैले धेरै गर्न सक्ने तर न त जग्गा छ, न त पूँजी,’ उनले भने ‘कसैको साथ सहयोग पाए सामान्य खर्च चलाउने त कमाउन सक्थेँ ।’ स्थानीय बजारमै च्याउको खपत हुने भएकाले पनि उनलाई आशा पलाएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->