बागलुङ/ माघको ६ गते सपनाको देश बेलायत फर्किने तयारी थियो । विहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुख्र्यौली कर्मघर देखेकै थिइनन् । छुट्टीमा आफ्नो देश फर्केका बेला संजिता आफ्नो श्रीमान जन्मेको थलो टेक्न चाहन्थिन् ।
दुर्भाग्य संचिताले श्रीमानको जन्मथलो त टेकिन् तर आएको बाटो अब कहिल्लै फर्किने छैनन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरी नगरपालिका–५ काठमाडांैकी २८ वर्षीया संजिताले ज्यान गुमाइन् । दुर्घटनामा उनको परिवार सबै घाइते भएका छन् ।
ढोरपाटन नगरपालिका–४ छोरेगाँउका दीपक गैरे र चन्द्रागिरी नगरपालिका–५ सतुंगलकी संजिता अधिकारी दुई वर्षअघि विवाह भएपछि सिधै बेलायत लागे । दीपक पहिलेदेखि नै बेलायत बस्थे । विहेपछि दिपकले संजितालाई जन्मघर ल्याएनन् । काठमाण्डौंमै बिहे भो, उतैबाट बेलायत लागे ।
बेलायतको दुई वर्ष बसाइपछि गत डिसेम्बर २२ गतेका दिन उनीहरु नेपाल आए । करिब सात वर्ष पहिलादेखि काठमाडौं बस्दै आएका दीपकको जन्मस्थान घुमेर मात्रै बेलायत जाने रहर संजितालाई थियो । लमजुङको पहाड घर छोडेर काठमाडौं बस्दै आएकी संजिताको रहर अनुसार दीपक र उनको परिवार पुस २६ गते जन्मगाउँ छोरेगाँउ पुग्ने पुगे । ‘घर जाने कर गरेकै उसैले हो, उसैले छोडेर गइ,’ दुर्घटनामा घाइते भएकी संजिताकी जेठानी मनकुमारी गैरेले भनिन् ।
संजिताको रहर अनुसार नै दीपकको परिवारले काठमाडौंबाट छोरेगाँउ आएको बताउँछिन् मनकुमारी । गत पुस २६ गते साँझ उनीहरु गाउँ पुगेका थिए । पुस २७ गते जेठो दाजु विवराज गैरेसंग दीपक संजिता र उनको परिवारले ७ वर्षअघि छोडेर काठमाडौं पुगेको छोरेगाँउ घुमे । संजितालाई बाल्यकालको रमाइलो सुनाउँदै २८ पुसमा ढोरपाटन घुम्ने योजना बनाएका दीपक दुर्घटनामा गम्भीर घाइते छन् ।
सालझण्डी–ढोरपाटन सडकखण्डअन्तर्गत शनिबार बिहान ढोरपाटन गइरहेको ध १ ज १९ नम्बरको जिप ढोरपाटन नगरपालिका–५ प्याङ्खोला अस्तुमा दुर्घटना भएको हो । जहाँ श्रीमानको गाँउ घुमेर माघ ६ गते बेलायत जाने योजनामा रहेकि संजितासंगै सवारी चालक ढोरपाटन–४ खुंगाका तिलक घर्तिको समेत ज्यान गएको छ ।
सग्लो परिवार सवार रहेको जिप सडकमा पल्टँदा परिवारका सदस्य गम्भीर घाइते छन् । घर घुमाउन श्रीमती र परिवार लिएर आएका दीपक घाइते शरीर बोकेर हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल पुगेका छन् ।
मृतक संजिताका श्रीमान दीपक गैरे, उनका आफन्त विवराज गैरे, जोग नारायण गैरे, उनी श्रीमती निरुता गैरे, छोरी कल्पना गैरे, कृष्ण गैरे र उनकी श्रीमती हिमा गैरे तथा मनकुमारी गैरे दुर्घटनामा घाइते भएको प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत् मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको छ । मनकुमारीका अनुसार गैरे परिवारले ढोरपाटन घुम्नकै लागि दुर्घटनामा परेको जिप रिजर्भ गरेका थिए । दुर्घटनाको कारण खुलेको छैन् ।





