बागलुङ / राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबीर पुन आफ्नो पुस्तक बेच्दै बागलुङ बजार आईपुगेका छन् । आँफै पुस्तक बोकेर विक्रीका लागि आएका पुनले आफ्नै जीवन कथामा आधारित पुस्तक ‘महावीर पुन-सम्झना, सपना र अविरल यात्रा’ मंगलवार बागलुङ बजार बिक्री गरे । उनको पुस्तक खरिद गर्न युवादेखि प्रौढसम्म सडकैमा पुगेका थिए ।
पुनको यो पुस्तक विद्यार्थी, सांसद, व्यवसायी, उद्योगी, शिक्षासेवी, समाजसेवी, प्रहरी जवान र युवाहरुले सयौ प्रति खरिद गरे । पुनको अभियानले देशको आद्यौगिक विकासमा टेवा पुग्ने र रोजगारी सृजना हुने भएकोले पुस्तक खरिद गरेको गण्डकी प्रदेश सभाका सदस्य कृष्ण पाठकले बताए ।
पुनले पुस्तकमा आफ्नो हस्ताक्षर गरेर आफ्ना पाठकहरुलाई बिक्री वितरण गरे । राष्ट्रिय आविस्कार केन्द्रको अभियान देशको हितमा भएकोले अभियान सफल बनाउन आफुहरुले पुस्तक खरिद गरेको खरिदकर्ताहरुले वताए ।
पुस्तक विक्री गर्न आएका पुनलाई यहाँका समाजसेवी चन्द्रबहादुर थापालले ५१ हजार ५ सय रुपैयाँ सहयोग स्वरुप प्रदान गरे । तर पुनले थापालाई ७० पटा पुस्तक निशुल्क नै दिए । थापाले आफुँले पुनलाई हार्दिकतापूर्वक सहयोग गरेको तर पुनले दिएका पुस्तक विभिन्न विद्यालय र पुस्तकालयलाई वितरण गर्ने बताए ।

पुस्तक विक्री गर्दै पुनले भने, ‘किताब बजारमा आएको त असोजमै हो, तर यसरी देश दौडाहामा हिँडेकोचाहिँ एकदुई दिन भयो, अब म निस्केँ। केही महिना देश दौडाहामै हुन्छु।’
पुस्तकको मूल्य रु. ७५० रहेको छ। राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उनको पुस्तक बिक्री गर्न थोक बिक्रेताले कमिशन मागेपछि पुन स्वयं पुस्तक बिक्री गर्न देश दौडाहामा निस्केको बताए। ‘यही गतिमा बिक्री भइरह्यो भने आविष्कार केन्द्रको लक्ष्य पूरा हुन्छ।’ पुस्तक बिक्रीबाट आएको रकमले वीरगञ्जस्थित कृषि सामग्री कम्पनी पुनसञ्चालन गर्ने योजना पुनले बनाएका छन्।

किताब उत्साह जनक रुपमा बिक्री भइरहेको छ। उनले आफू अहिले कुन ठाउँमा छु र अब कुन ठाउँमा जाउँदैछु भन्ने फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गर्छन्। भनेको समयमा सोही ठाउँमा पुग्ने गर्दछन् ।





