बागलुङ / मेरुदण्ड भाँचिएर आफ्नै विस्तारामा रहेकी जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखराकी मन कुमारी क्षेत्रीलाई विवाईसीले एक थान सेमी फोल्डिंग बेड सहयोग गरेको छ । विवाईसी बागलुङद्वारा संचालित ग्रामिण स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा सो क्षेत्रीलाई प्रदान गरिएको हो ।
काठेखोला गाउँपालिका–२ का वडाअध्यक्ष विद्यापति शर्मा र विवाईसी बागलुङका अध्यक्ष तोयानाथ गौतमले क्षेत्रीलाई सो एक थान बेड आइतवार हस्तान्तरण गरे । बेड हस्तान्तरण गर्दै विवाईसीका अध्यक्ष गौतमले क्षेत्रीलाई सुत्नको लागि सहज होस् भनेर २१ हजार ८ सय ६५ रुपैयाँ बराबरको सुविधा सम्पन्न बेड प्रदान गरिएको बताए ।
क्षेत्रीले नियमित खानुपर्ने र घाउ सफा गर्न चाहिने बेटारिन लगायतका औषधीजन्य सामाग्रीको अभाव रहेको बताईन । पहिले स्वास्थ्य चौकीदेखि परिवारका आफन्तलाई औषधि दिने गरिएपनि अहिले बिरामी स्वयंम अस्पताल आउनुपर्ने बताएकाले औषधिको लागि समस्या भइरहेको क्षेत्रीले बताईन ।
‘दैनिक खानुपर्ने र घाउँ सफा गर्नको लागि बेटारिन, गजहरुको दैनिक आवश्यकता पर्छ,’ क्षेत्रीले भन्नुभयो,‘म उठ्न पनि सक्दिन । अस्पतालले विरामी स्वयंम आउनुपर्ने बताएपछि अहिले औषधि प्रयोगमा समस्या भइरहेको छ ।’ २२ वर्ष पहिले घाँसदाउरा गर्ने बेलामा बनमा लडेर क्षेत्रीको मेरुदण्ड भाँचिएको थियो ।





