बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीले घरबाटै कर तिर्ने बनाउने

जैमिनीले घरबाटै कर तिर्ने बनाउने


  • ढोरपाटन संवाददाता
  • माघ ६ २०८०, शनिबार

बागलुङ/जैमिनी नगरपालिकाले एकीकृत राजश्व सुधार कार्यक्रम शुरु गरेको छ । राजश्व संकलनमा वृद्धि गर्दै आम नागरिकलाई मोवाइलबाटै कर तिर्न सक्ने बनाउन नविनतम विधि संचालनको थालनी गर्न लागिएको छ ।

नगर उपप्रमुख हरिहर शर्माले ट्याक्स कार्ड सफ्टवेयर जडानको काम गर्ने बताए । त्यसकालागि चालु वर्ष नगरपालिकाले एकीकृत राजश्व सुधार योजनाकालागि ४ लाख र ट्याक्स कार्ड सफ्टवेयरका लागि २ लाख ५० हजार बिनियोजन गरेको थियो । १४ औं नगर सभाले दुवै रकमलाई रकमान्तरण गरेर एकीकृत व्यवसाय दर्ता र कार्ड निर्माणमा लगाउने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले पनि यो कामका लागि सहयोग गर्ने भएपछि नगरको बजेट रकमान्तरण गरिएको हो । चालु वर्ष गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट एकीकृत राजश्व सुधार कार्यक्रमका लागि आवस्यक काम नै गरिदिने भएको हो । चालुबर्ष संघिय सरकारबाट ५ करोड ६० लाख र गण्डकी प्रदेश सरकारबाट ३६ लाख वित्तिय समानीकरण बजेट जैमिनीमा आउने भएको छ ।

हाल जैमिनी नगरपालिकाले बर्षमा १ करोड १८ लाख रुपैयाँ राजश्व संकलन गर्दै आएको थियो । सफ्टवेयर जडान हुनासाथ कम्तिमा २ करोड संकलन हुने शर्माले जानकारी दिए । ‘भोलीका दिनमा हरेक नागरिकको कर मोवाइल मार्फत आउने व्यवस्थापन हुनेछ,’ शर्माले भने, ‘पहिलो चरणमा संस्थागत र व्यवसाय कर राजश्वमा जोड्छौं ।’ एकीकृत सम्पत्तिकर समेत क्रमश जोडिने उनले बताए । नगरका सबै स्वास्थ्य संस्थाको तथ्यांक प्रविधिमार्फत् एकीकृत गर्ने लगायतका सफ्टवेयरका काम पनि नगरले थालिसकेको छ । ती बिषय समेत नयाँ विधिमा क्रमश जोडिने बताइएको छ ।

ग्रामीण बस्ती मात्रै भएकोले जैमिनीमा ठूला उद्योग वा व्यवसाय छैन । तर आन्तरिक श्रोत साधनकै उपभोगबँट बिकास निर्माण गर्ने र कर संकलन गरेर नगरपालिकालाई दिगो विकासमा लैजाने सोच नगरले राखेको उनले बताए ।

नगरपालिकाले सार्वजनिक सेवा प्रवाहको गुणस्तर विकास गर्न पनि बजेटको व्यवस्थापन गरेको छ । स्वास्थ्य, शिक्षा र बालविकासको क्षेत्रमा जैमिनीले सुक्ष्म रुपमा फड्को मार्न लागेको छ । बालमैत्री नगरको पूर्वाधार र तथ्यांक पुरा गर्ने, सबै स्वास्थ्य संस्थाको डिजिटल रेकर्ड पद्धति राख्ने र सबै बिद्यालयमा गुणस्तरीय शिक्षा दिने लक्ष्य नगरको छ । त्यस्ता कामकालागि नगरपालिकाले संचित कोषबाटसमेत रकम लगानी गर्ने नीति बनाएको हो ।

बढ्दो बसाइँसराइ रोक्न बाँदर नियन्त्रण कार्यक्रम, वास्तबिक सुकुम्बासी र घर नभएकाहरुको पहिचान गरिएको छ । उनीहरुलाई आबासको प्रबन्धकालागि पनि नगरपालिकाले कार्यक्रम अगाडि बढाएको नगर प्रमुख नरबहादुर पुनले बताए । ‘स्थानीय सरकार छ भन्ने भावना नगरबासीलाई दिलाउने योजना बनाएका छौँ,’ उनले भने,‘कृषि र पशुपालन बाटै नगरको समृद्धि संभव छ भन्नेमा हामी विश्वस्त छौं ।’ राजश्व सुधार गरेमा आन्तरिक खर्चको बाटो पनि बलियो हुने उनले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->