पोखरा/नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कास्कीको ३० औं वार्षिक साधारण सभा विभिन्न प्रतिवेदन र कार्ययोजना अनुमोदन गर्दै सम्पन्न भएको छ ।
शनिबार पोखरामा आयोजना गरिएको ३० औं साधारण सभाले महासंघ कास्कीका सचिव सञ्जय आचार्यले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष सूर्यमोहन आचार्यले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन र आगामी कार्ययोजना अनुमोदन गरेको हो ।
यसअनुसार महासंघले निर्धारण गरेका सबै कार्यक्रमहरुलाई समयमा नै सम्पन्न गर्ने, महासंघ गण्डकी प्रदेशको माघ २० गते पोखरामा हुने तेश्रो अधिवेशनको व्यवस्थापन गरिने भएको छ ।
महासंघ केन्द्रले जारी गरेको सर्कुलर अनुसार जिल्लाहरुले विधान बनाएर जिल्ला दर्ता गर्ने र बन्ने जिल्ला संघहरुको केन्द्रिय छाता संगठनको रुपमा नेपाल स्टेशनरी व्यवसायी महासंघ रहने भएको छ । विधान तयार भईसकेकोले अब छिट्टै दर्ता गरेर पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, कास्की नाममा परिणत हुने भएको छ ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका मेयर धनराज आचार्यले १४ वर्ष वर्षपछि कास्कीले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय नेतृत्वको लागि अग्रसर भएकोमा लक्ष्य प्राप्तिका लागि शुभकामना व्यक्त गरे ।
सम्मान कार्यक्रममा विभिन्न कार्यक्रमको संयोजक भएर उत्कृष्ट काम गरेकाहरुलाई सम्मान गरिएको सहसचिव रामप्रसाद सुवेदीले बताए । सम्मानित हुनेहरुमा भुवन अधिकारी, प्रकाशप्रसाद पोखरेल, दीपेन्द्र पोखरेल, गीता अधिकारी, टीकाराम पौडेल रहेका छन् । यस्तै स्वास्थ्य सेवामा सहकार्य गरेका यूआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्त तथा प्रिन्टिङ पार्टनर जिएस प्रिन्ट एण्ड सप्लायर्सलाई सम्मान पत्र र माला लगाई मेयर आचार्यले सम्मान गरेका थिए ।





