बागलुङ/ नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि कुटपिट गर्ने प्रहरी कारवाहीमा परेका छन् ।
जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा प्रहरी नायव निरीक्षक अनुप केसी क्षेत्री कारवाहीमा परेका हुन् । समितिले दिएको प्रतिवेदनको आधारमा केसीलाई प्रहरी ऐन अनुसार विभागीय कारवाही गरिएको प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्काले बताए ।
प्रहरी ऐन अनुसार कुनै पनि प्रहरी कर्मचारीले गरेको कसुरजन्य कामको उचित र पर्याप्त कारण खुलेपछि गरिने कारवाही गरिएको हो । दुई पटकसम्मको स्पष्टीकरण सोधेपछि केसीलाई नसिहत दिइएको थियो । त्यस्तै उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।
उनले गरेको कसुरमा सार्वजनिक माफीसमेत मागेका छन् । आगामी दिनमा यस्तो गल्ती नदोहो¥याउने प्रतिवद्धता पनि जनाएका छन् । छानविन समितिदेखि कारवाही सम्मको फाइल खडा गरेर जिल्ला प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालय, हेलो सरकार र राष्ट्रिय मानवअधिकार आयोगमा समेत पठाउने व्यवस्था गरेको छ ।
पुस २१ गते बागलुङ महोत्सवको ११ औं दिन प्रहरीले राना माथी कुटपिट गरेको थियो । उक्त घटनामा रानाको हात र खुट्टामा चोट लागेको थियो । अझै पनि शरीरमा निलडाम रहेका छन् । उनको हातको हड्डी समेत चर्केकोले धौलागिरि अस्पतालमा एक्सरेलगायतको स्वास्थ्य उपचार गरी औषधिसमेत सेवन गरेका थिए ।
छानविन समितिले प्रतिवेदन सार्वजनिक गर्न ढिला गरेपछि पत्रकारले एक दिन जिल्ला प्रशासन कार्यालयमा धर्नासमेत दिएका थिए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले कारवाहीको प्रतिवद्धता जनाएपछि पत्रकारको आन्दोलनको कार्यक्रम स्थगित भएको थियो । बुधबार पीडित पक्षको उपस्थितिमा प्रहरी कार्यालयमा केसीले माफीसमेत मागेर जिल्ला छाडेका छन् ।





