बागलुङ/ जिल्लाको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका २५२ जना सदस्य बसाइँ सरेका हुन् ।
गाउँपालिकाले तयार गरेको तथ्यांकअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाकै हाराहारीमा बसाइँ सर्नेको तथ्यांक पाइएको हो । आठवटा वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं. ५ र ६ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए ।
बिहुँबाट मात्रै नौ महिनामा २६ परिवारका १०५ जना सदस्यले गाउँ छोडेका छन् । तीमध्ये वडा नं. ५ बाट १३ परिवारका ४९ जना सदस्य र वडा नं. ६ का १३ परिवारका ५६ जना सदस्यले गाउँ छोडेका हुन् । वैदेशीक रोजगारीमा रहेका र उच्च शिक्षाका लागि विदेशमा रहेका युवाहरुको परिवार धेरै बसाइँ सरेका छन् ।
गाउँपालिकाबाट बसाइँसराइ लिएर जानेबाहेक थातथलो छोडेर अन्यत्रै बस्नेहरुको संख्या पनि उच्च छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले फन्को मारेको साविकको बिहुँ गाविस (हाल वडा नं. ५ र ६)मा सदरमुकामदेखि छोटो दूरीका वडा हुन् । यहाँ सडक सुविधा छ । दुईवटा सामुदायिक क्याम्पस, विद्यालयहरु, खानेपानी, विद्युत, स्वास्थ्य संस्थालगायतका संरचना तयार भएपनि गाउँ रित्तिन नछोडेको उपाध्यक्ष थापा बताउँछन् ।
‘‘हामिले कयौं प्रयास गर्दा पनि थेग्न सकेनौं,’ थापा भन्छन्,‘यस्तै अवस्थामा बसाइँसराइ रहने हो भने हामीले गाउँमा विकास पु¥याउने, गाउँ खाली हुने अवस्था हुन्छ ।’’
नौ महिनाको अबधिमा काठेखोलामा सबैभन्दा कम बसाइँसराइ वडा नं. १ पालामा छ । यो वडाबाट नौ महिनामा २ परिवारका पाँचजना सदस्य मात्रै गाउँ छोडेर अन्यत्रै गएको थापाले जानकारी दिए । वडा नं. २ भीमापोखराबाट ५ परिवारका १२, वडा नं. ३ धम्जाबाट ११ परिवारका ३५, वडा नं. ४ तंग्रामबाट ११ परिवारका ४७ र वडा नं. ७ रेशबाट ८ परिवारका ३३ जना बसाइँ सरेको गाउँपालिकाको तथ्यांक छ । वडा नं. ८ लेखानीबाट ५ परिवारका १५ जना बसाइँ सरेका छन् ।
बसाइँ सर्नेहरुमा आर्थिक हिसाबले मध्यम वर्ग कम रहेको वडा नं. ५ का अध्यक्ष ज्ञामनाथ कँडेलले बताए । ‘‘सुविधाको खोजीमा जानेहरु छन्, कतिपय लहैलहैमा गाउँ छोडेर हिँडे,’ उपाध्यक्ष थापाले थपे । गाउँपालिकाको तथ्यांकअनुसार दैनिक ज्यालामजदुरी गरेर खानेहरु अवसरको खोजीमा सहरबजार झरेका छन् भने आर्थिक रुपले सक्षम भएकाहरु देशका ठूला सहर र तराइमा बसाइँ सरेका छन् ।
‘‘उच्च शिक्षाका लागि विदेश जाने, उतै कार्ड बनाउने र परिवार मधेश झर्ने गरेका कारणले पनि बसाइँसराइको तथ्यांक बढ्दो छ,’ वडा नं. ७ का अध्यक्ष प्रेमबहादुर जिसीले भने,‘बत्ति मुनीको अध्यारो भनेजस्तै, सुगम भएर पनि गाउँहरु रित्तिँदै छन् ।’
गाउँपालिकामा पछिल्लो नौ महिनामा २७ परिवार गाउँ फर्किएका छन् । बसाइँसराइ गरेर गाउँ छोडेका २७ परिवारका ९७ सदस्य गाउँ फर्केको थापाले बताए ।
बसाइँसराइको तथ्यांक बढ्न थालेपछि गाउँपालिकाले आफ्ना नीति तथा कार्यक्रम र बजेटहरुमा सोही अनुसार तर्जुमा गर्ने योजना बनाएको छ । पछिल्लो तथ्यांकलाई आधार मानेर छलफल थालिएको गाउँपालिकाका अध्यक्ष राजु थापा बताउँछन् । यहाँबाट बसाइँ सरेका कसैले पनि घर गोठ, पाखोबारी र खेत भने बिक्री गरेका छैनन् । जसका कारण बाँझो जग्गाको क्षेत्रफलसमेत बढेको छ ।
बागलुङका दशवटा स्थानीय तहमध्ये जैमिनी नगरपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा बसाइँसराइ धेरै भएका छन् । काठेखोलाको जस्तै तथ्यांक अन्य स्थानीय तहले तयार गरिनसकेका भए पनि काठेखोला बाहेकका स्थानीय तहमा पनि बसाइँसराइको दर उच्च छ । जैमिनी नगरपालिकाको वडा नं. ९ मा पर्ने लाम्सु गाउँ, बागलुङ नगरपालिकाको वडा नं. ११ मा पर्ने रायडाँडा, ओख्ले गाउँ बसाईसराईका कारण रित्तिंदै गरेका गाउँका नमूना हुन् । यी गाउँहरुका अधिकांश घरहरु खाली छन् ।
जैमिनी नगरपालिकाले भूउपायोग नीति नै बनाएर बसाइँसराइ रोक्ने प्रयास गरेको छ । गलकोट नगरपालिका र बरेङ गाउँपालिकाले पनि बसाइसराइँ बढ्दो रहेको बताउँदै आएका छन् ।





