बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरेको हो ।
बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
पक्राउ परेकी कोषाध्यक्ष सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष नेपाली जेठदेखि फरार छन् ।
मेयर नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएको थियो । उनीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपनि पक्राउ पर्न सकेका छैनन् ।
फरार रहेका १३ जनामध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेको बागलुङका प्रहरी प्रवक्ता प्रनाउ मदन केसीले जानकारी दिए । यस प्रकरणमा चित्रबहादुर भण्डारी, लालमति रोका, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर यसअघि नै पक्राउ परेका थिए ।





