शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

सत्ता गठबन्धन विदेशीसामु लम्पसार : एमाले महासचिव पोखरेल

सत्ता गठबन्धन विदेशीसामु लम्पसार : एमाले महासचिव पोखरेल


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०८०, शुक्रबार

म्याग्दी / नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन देशका लागि अभिसाप रहेको बताएका छन् । नेकपा (एमाले) म्याग्दीको दशौं जिल्ला अधिवेशनको शुक्रबार सदरमुकाम बेनीमा उद्घाटन गदैं महासचिव पोख्रेलले वर्तमान सरकार इतिहासकै कमजोर र राष्ट्रियतालाई ध्यान नदिइ सत्ता जोगाउन विदेशीसामु लम्पसार परेको आरोप लगाएका छन् ।‘यो सरकार देशका लागि कुनै पनि हिसाबले हितकर छैन, अहिलेको सरकारकै कारण देश संकटमा परेको छ,’ महासचिव पोख्रेलले भने ।

उनले वर्तमान सरकारका प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा देशले के गुमाउनु पर्ने हो भन्ने चिन्ता हुने गरेको बताए । नेकपा एमालेको नेतृत्व गरेको सरकारले भारतीय नाकाबन्दीको सामाना गदैं स्वाधीनता, स्वाभिमान, राष्ट्रहितको पक्षमा एमाले खरो उत्रिएको स्मरण गदैं गठबन्धन सरकारले विदेशीसामु नेपालीको शीर झुकाउने काम गरेको बताए ।

महासचिव पोख्रेलले नाकाबन्दीको सामना,चीनसँग व्यापार, पारवहन सम्झौता गदै भारतसँग वषौंदेखि नसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको अवस्थामा अहिलेको सरकारले भारतको अनुकुल हुने गतिविधिमा केन्द्रीत भएको आरोपसमेत लगाएका थिए ।‘अहिलेको कमजोर अवस्था गठबन्धनको सरकारकै कारण उत्पन्न भएको हो,एमाले सत्ता बाहिर भए पनि अन्तर्राष्ट्रिय फोरमहरुमा जनताको पक्षमा,राष्ट्रिय हितको एजेण्डामा निरन्तर अडान लिइरहेको छ,’ महासचिव पोख्रेलले भने ।

उनले मुलुक बनाउने एजेण्डा बोकेको पार्टी सत्ता बाहिर हुँदा अहिले जनताले दुःख पाएको बताए । महासचिव पोख्रेलले वर्तमान सरकारले भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएको आरोप उनको थियो । उनले सुन तस्करसँगको उठबसका कारण आर्थिक संकट देखिएको र अहिले देशमा लगानीको वातावरण नबन्दा विदेश पलायनको दर उच्च रहेको बताए । देश बर्बाद हुनबाट जोगाउन गठबन्धन सरकारलाई जनताले विस्थापित गर्नुपर्ने महासचिव पोख्रेलको भनाइ छ ।

एमालेको सरकार अहिले देशको लागि अपरिहार्य भएको बताउँदै महासचिव पोख्रेलले छिमेकी राष्ट्र चीनसँगको सम्बन्धलाई कमजोर बनाउने प्रयास गरेको बताए । उनले एमालेको सरकारले तीनै तहका सरकारलाई विनियोजन गरेको बजेटलाई कटौती गर्ने गरेको आरोप पनि लगाए । देशैभरीका स्थानीय तहमा निर्माणधीन अवस्थामा रहेका अस्पतालको शिलान्याससहित बजेट विनियोजन गर्दा अहिलेको सरकारले बजेट घटाएर अलपत्र पारेको बताए । उनले नेपालमा एमालेको सरकारको पालामा भएका काम र अहिले गठबन्धनको सरकारको कामबाटै जनता प्रष्ट भएको बताए ।

जिल्ला अधिवेशनमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, सचिव पद्मा अर्याललगायत केन्द्रीय नेता, गण्डकी प्रदेशका नेताको उपस्थिति रहेको छ ।अधिवेशनमा वडागत, जनसंगठन, जिल्ला कमिटिका पदाधीकारी र सदस्य सहित ४१९ जना प्रतिनिधिले भाग लिएका छन् । अधिवेशनमा भाग लिनका लागि जिल्लाका ४५ वटै वडाबाट आएका प्रतिनिधिसहित बेनीबजार परिक्रममा समेत गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, स्वागत उपाध्यक्ष बालकृष्ण सुबेदी र सञ्चालन सचिव सुरत केसीले गरेका छन् । जिल्ला समन्वयको सभाहलमा अधिवेशनको उद्घाटन सकिएपछि शनिबार बन्द सत्रमार्फत् नयाँ नेतृत्व चयन हुने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->