शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

खुकुरीसहित ‘ग्याङ फाइट’ : एकको मृत्यु, चार पक्राउ

खुकुरीसहित ‘ग्याङ फाइट’ : एकको मृत्यु, चार पक्राउ

घटनामा दुवै पक्षबिच खुकुरी र चक्कु प्रहार


  • ढोरपाटन संवाददाता
  • माघ १३ २०८०, शनिबार

म्याग्दी / जिल्लाको सदरमुकाम बेनीबजारमा बिहीबार साँझ खुकुरी प्रहर गरी एक युवाको हत्यामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई यूवा समूहबिचको विवादमा धारिलो खुकुरी प्रहार गरी जिल्लाको रघुगंगा गाउँपालिका-१,बेग घर भई हाल बेनी स्थित पिपलचोकमा बस्दै आएका २१ वर्षीय सुशील गर्बुजाको हत्यामा संलग्नमध्ये चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो।

घटनामा संलग्न धवलागिरी गाउँपालिका-४,का अमृत पुर्जा, रघुगंगा गाउँपालिका–७ घर भई हाल गलेश्वर बस्ने १९ वर्षीय उत्सव पुन, धवलागिरी–४ घर भई हाल बेनी बस्ने २१ वर्षीय शंकर घर्ती, मंगला गाउँपालिका–२ घर भई हाल बेनी बस्ने २३ वर्षीय प्रविन जिसीलाई पक्राउ गरिएको जिप्रका म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक कुमार गुरुङले बताए।

‘घटनामा संलग्न अन्यको समेत खोजी र अनुसन्धान भइरहेको  छ, चारैजनालाई जिल्ला अदालत म्याग्दीबाट पाँच दिनको म्याद थप गरिएको छ’ प्रहरी नायव उपरीक्षक मदन कुँवरले भने।

उनका अनुसार घटनास्थल आसपासका सिसिटिभी फुटेज सहित प्रत्यक्षदर्शी, विगतका दुस्मनीका साथै घटनामा संलग्न अन्य यूवाहरूको समेत खोजीकार्य भइरहेको छ। घटना दुवै पक्षबिचको विवाद खुकुरी र चक्कु प्रहारको अवस्थामा पुगेको अनुसन्धानबाट खुलेको छ।

बेनी स्थित विभिन्न ठाउँमा लुकेर रहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको र अभियुक्त र घटनास्थलबाट एक थान चक्कु र एक थान खुकुरी बरामद गरिएको जनाइएको छ।

युवाको समूहबिच बेलाबेला ‘ग्याङ फाइट’ हुने गरेको थियो। सामान्य विवादले पनि उग्र रूप लिँदै जाँदा बेलाबेला ती समूह एक अर्कासँग भिड्दै आएका थिए। युवाबिचको त्यही विवादलाई सल्टाउने गरी विगतमा समेत सहमति गरेपनि भेटेपछि कुटिहाल्ने अवस्था थियो।

यही समूहबिच माघे संक्रान्ति मेलामा पनि ग्याङ फाइट भएको थियो। उनीहरुको विवादबारे प्रहरीलाई पनि जानकारी रहेको स्रोतले बतायो।

संलग्नलाई पक्राउ गर्नका लागि बेनीबजारबाट ग्रामीण क्षेत्रमा जाने सडक र बाहिरी जिल्ला जाने नाकामा समेत व्यापक चेकजाँच गरिएको प्रहरीले बताएको छ। यो घटनामा संलग्नहरु २०-३० वर्ष उमेर समूहका युवा रहेको प्रहरीको अनुमान छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->