बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोट बहुमुखी क्याम्पस क्युएएको बाटोमा

गलकोट बहुमुखी क्याम्पस क्युएएको बाटोमा


  • ढोरपाटन संवाददाता
  • माघ १७ २०८०, बुधबार

बागलुङ/गलकोट बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रणालीमा जाने भएको छ । शिक्षामा गुणस्तर कायम गर्दै युवा पलायन रोक्ने लक्षले क्याम्पसले यो विधि ल्याउन लागेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए ।

बिशेषगरी गलकोट क्षेत्रका युवाहरु बिदेश बढी जाने हुँदा युवा पलायन रोकेर स्थानीय तहमै रोजगारी दिने गरी गुणस्तका कार्यक्रम ल्याउने समेत क्यामपसको योजना छ । बुधवार क्यामपसले पत्रकार सम्मेलन गरेर क्युएए प्रणालीमा जाने योजना बारे जानकारी दिइएको छ । त्यसकालागि पुरा गर्ने धेरै सूचककालागि क्यामपसले महायज्ञ मार्फत आर्थिक संकलन समेत गर्ने बताइएको छ ।

खर्च व्यवस्थापनकालागि क्याम्पसले महायज्ञ मार्फत २० करोड रकम जुटाउने तयारी गरेको भण्डारीले जानकारी दिए । आगामी फागुन ६ देखि १३ गते सम्म महायज्ञ गरेर उक्त रकम संकलन गर्न लागिएको हो । त्यसकालागि स्थानीय अभिभावक र शिक्षकहरु जुरमुराएका छन् । नगरपालिका, वडा र जनप्रतिनिधिले पनि यो अभियानलाई साथ दिने बताएका छन् । देश बिदेशमा रहेका कलेजका पूर्व बिद्यार्थी, व्यवसायी र समाजसेवीको साथबाट यो रकम संकलन गर्ने क्याम्पसको योजना भण्डारीले सुनाए । त्यसपछि भने क्यामपसले युवा रोजगार बढ्ने प्रकारका संकाय थप गर्ने लक्ष समेत राखेको छ । हाल यहाँ शिक्षा र व्यवस्थापन संकायमा स्नातक तहको मात्रै पढाइ हुने गरेकोछ ।

मध्यपहाडी लोकमार्गको छेवैमा भएकोले गलकोट बहुमुखी क्याम्पसमा जिल्ला बाहिरका बिद्यार्थी समेत आउन सक्ने संभावना रहेको व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माले बताए । त्यसकालागि क्याम्पसले उत्कृष्ठ छात्रावास, आइटी ल्याब, अक्षयकोष, पूर्णकालिन शिक्षकको व्यवस्थापन, मल्टिमिडिया मार्फत कक्षा संचालन लगायतका कार्यक्रम थप गर्ने योजना उनले सुनाए । सदरमुकाम देखि ४५ किमी पश्चिमको गलकोटमा गलकोट नगरपालिका, ताराखोला, बडिगाड र बरेङ गाउँपालिकाबाट बिद्यार्थी पढ्न आउँछन् । गलकोटमा शिक्षा र व्यवस्थापन संकायको बिएड र बिबिएसमा ४ सय बिद्यार्थी अध्ययन गरिरहेका छन् ।

पछिल्लो समय गलकोटबाट सयौं युवा जापान र युरोपमा गएका छन् । ‘हाम्रो शिक्षा प्रणाली ढीला र लामो समय लाग्ने भएकोले युवा पलायन बढेको छ’ क्याम्पसका पूर्व प्रमुख देबेन्द्र खत्रीले भने, ‘रोजगारको सुनिश्चितता नभएकोले उच्च शिक्षा पढ्ने घटेका हुन् ।’ समयमा परीक्षाफल आउने र रोजगारी पाउने शिक्षा दिन सकेमा पलायन रोक्न सकिने उनले बताए । त्यसकालागि क्याम्पसले गुणस्तर प्रत्यायनको सुनिश्चितताकालागि काम थालेको बताए ।

त्रिभूवन विश्व विद्यालयले क्युएए प्रणालीमा गएपछि मात्र संकाय थप गर्न पाउने प्रावधान राखेको छ । २०६१ सालमा यहाँ महायज्ञ लगाएर सामुदायिक क्याम्पस स्थापना गरिएको थियो । त्यतिबेला स्थानीयले १ करोड ८० लाख रुपैयाँ संकलन गरेका थिए । उक्त रकमले शुरु भएको क्याम्पसले राज्यको सहयोग नपाएपछि फेरी स्थानीयलाई नै सहयोगकालागि हात बढाएको सहायक क्याम्पस प्रमुख चुडामणी सुवेदीले बताए । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको अध्यक्षता, सहायक क्याम्पस प्रमुख चुडामणी सुवेदीको संचालनमा भएको पत्रकार सम्मेलनमा व्यवस्थापन समितिको सदस्यको तर्फबाट वडा नंं २ का अध्यक्ष हिमबहादुर भण्डारीले पनि क्याम्पसको गुणस्तर सुधार्दा मध्यपहाडी लोकमार्गका पश्चिम तर्फका जिल्लाबाट पनि बिद्यार्थी भित्राउन सकिने संभावना बताए । त्यसकालागि गलकोट बहुमुखी क्याम्पस र गलकोट नगर अस्पतालको समेत गुणस्तर सुधार गर्नुपर्ने औल्याएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->