बागलुङ/ सदरमुकामको रुद्रेपिपल माविमा कक्षा १० मा पढ्ने एक किसोरी महिनाबारी भएको दिन विद्यालय आइनन् । शिक्षकले खासै चासो राखेनन् । तर, साथीहरुले सोधीखोजी गर्दा शौचालयमा पानी नभएकोले विद्यालय नआएको ती किसोरीले खुलाइन् ।
ती किशोरीजस्तै यहाँ हरेक अनुपस्थित हुने किशोरीमध्ये महिनाबारी भएकोले नआउनेहरु छन् । ‘शौचालय र सेनीटरी प्याड फेर्ने कोठामा पानीको समस्या छ,’ कक्षा दशकी छात्रा बिष्णु चापागार्इंले भनिन्, ‘कहिलेकाहिँ हामीलाई पनि समस्या परेको छ ।’ गत वर्षसम्म त विद्यालयमा आएको सेनीटरी प्याडसमेत कम गुणस्तरको भएको उनले बताइन् । ‘गुणस्तर नभएकोले घरकै ल्याएर प्रयोग गरेका थियौं,’ चापागाईले भनिन्,‘अहिले भने राम्रो आएको छ ।’ विद्यालयको शौचालयमा अझै पनि पर्याप्त पानी नभएको उनले गुनासो गरिन् ।
खानेपानीको लागि पनि विद्यार्थीले समस्या भोग्ने गरेका छन् । विद्यालय नर्स कक्षमा राखिएको जारको पानी केही विद्यार्थीे मागेर खान्छन् । सबैले यहाँ जाने हिम्मत नराख्दा शौचालय छेवैमा राखिएको हातधुने स्थानको समेत पानी खाने गरेका हुन् । उक्त पानी पिउनका लागि भने शुद्ध नभएको शिक्षकले बताए । ‘यहाँ आएर माग्नेलाई त मैले दिने गरेकी छु, बाहिर पनि शुद्ध पानी राखिनुपर्ने हो, कुरा गर्दैछौं,’ बिद्यालय नर्सले भनिन्, ‘कतिपय बालबालिकाले समस्या अझै बताउन सक्दैनन् ।’ महिनाबारीलगायतको समयको समस्या त धेरैले बताउन नसकेको उनले बताइन् ।
विद्यालयमा गत बर्ष डिआइआरडिसीले बालमैत्री हातधुने धारा र सेनीटरी प्याड फेर्ने कोठा बनाइदिएको छ । उक्त स्थानमा पानी भने अभाव भएको हो । ‘अहिले एउटा मात्रै ट्यांकीबाट शौचालय, हातधुने स्थान र ड्रेसिङ कक्षमा पानी पुग्छ,’ एक शिक्षकले भने, ‘अर्को ट्यांकी थपेर व्यवस्थापन गर्न सकेमा यो समस्या हट्नेछ ।’
यो समस्या सदरमुकामको बिद्यालयमा मात्र हैन, ग्रामीण क्षेत्रमा पनि छ । कतिपय गाउँका विद्यालयमा त खानेपानीको व्यवस्था नै छैन । नजिकैको सामुदायिक धारा प्रयोग गर्नुपर्छ । शौचालयमा त झन् समस्या हुने गरेको हो ।
यो समस्या बजारभित्रकै विद्यामन्दिर, कालिका कन्या माविमा पनि छ । व्यवस्थित कोठामा सेनीटरी प्याड फेर्ने बनाए पनि विद्यालयले पर्याप्त पानीको व्यवस्थापन गरिदिएका छैनन् । जसको कारण उनीहरु अझै पनि विद्यालय नियमित आउन नसकेका हुन् । पछिल्लो समय सबै बिद्यालयमा सेनीटरी प्याड दिने व्यवस्था छ । तर, कतिपयमा फेर्ने कोठा बनाइएको छैन । शौचालयमा पानीको अभाव हुने र दुर्गन्ध हुँदा छात्राहरु पढ्नै नआउने गरेको कक्षा १० कै रितिका क्षेत्रीले गुनासो गरिन् ।
महिनाबारी हुँदा विद्यालयको समस्याले बालिकाहरु विद्यालय नआउने समस्या भैरहने शिक्षकहरु पनि स्विर्काछन् । नआएका विद्यार्थीले पेट दुखेको वा अन्य काम परेको बाहना बनाउने गरेको भेटिन्छ । ‘यस्तो समस्या बेला बेला भैरहेको छ,’ तित्याङ माविका प्रअ कुमार उपाध्यायले भने, ‘व्यवस्थित कक्ष बनाएर किसोरीहरुको समस्या समाधान गर्नुपर्छ ।’ विद्यालयमा त्यस्तो बजेट नहुने भएकोले राज्य र गैरसरकारी संस्थाको नजर पुग्न नसकेको उनले बताए ।
बागलुङ नगरपालिकाले आगामी पुस मसान्त सम्ममा बालमैत्री नगर बनाउने घोषणा गरेको छ । त्यसका लागि यस्ता प्रकारका सूचकहरु पुरा गर्नुपर्ने उनले बताए । नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले धेरै विद्यालयमा यस्ता प्रकारका काम गर्नुपर्ने बाँकी रहेको बताए । उनले एक वर्ष घनिभुत काम गरेर मात्र बालमैत्री घोषणा गर्ने जानकारी दिए ।
बालमैत्री घोषणा भैसकेको गलकोटमा पनि यो समस्या छ । गलकोट माविलगायतका केही विद्यालयमा भने राम्रो व्यवस्थापन भैसके पनि ग्रामीण क्षेत्रका विद्यालयमा अझै यो व्यवस्था हुन नसकेको हो । भौतिक निर्माणमा धेरै खर्च लाग्ने तर विद्यालयको प्रशासनिक बजेटले नपुग्ने भएकोले यस्ता समस्या समाधानमा अझै समय लाग्ने पाण्डवखानी माविका प्रअ नविन सुनारको भनाइ छ ।





