बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

२५ वर्षदेखि हिलोधुलोले निस्सासिएका सर्वसाधारण

२५ वर्षदेखि हिलोधुलोले निस्सासिएका सर्वसाधारण


  • तारानाथ आचार्य
  • माघ १९ २०८०, शुक्रबार

बागलुङ/ मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नं. ५ र ६ मा पर्ने बिहुँ गाउँका घरगोठ छुट्याउनै कठिन हुन्छ ।

ढुंगा र जस्तापाताको छानोभरि धुलैधुलो छ, दशैं तिहारमा रंगरोगन गरिएका घर अहिले सेताम्मे देखिन्छन् । बिहान धोएर सुकाएका कपडा बेलुका लगाउनै नहुने हुन्छन् । यसको वास्तविक पीडा मध्यपहाडीमा धुलो उडाउँदै हिँड्नेलाई के थाहा । भोग्नेलाई मात्रै थाहा छ ।

सदरमुकाम बागलुङ बजारसँग जिल्लाको पश्चिम क्षेत्रलाई जोड्नेगरी २०५६ सालमा बागलुङ–बुर्तिबाङ सडक निर्माणसँगै सुरु भएको हो बिहुँबासीको नियती । पहिले एसियाली बिकास बैंकको सहयोगमा निर्माण सुरु भएको सडक गैची र बेल्चाको सहारामा तयार भएको हो । भिरालो जमिनमा सडक खन्दा निस्केको माटो बगाउँदा उडेको धुलोले छोपिएका घर अहिले सवारी गुड्दा उडेको धुलोले छोपिने गरेका छन् ।

‘खाना पस्केर केहीबेर छोड्ने हो भने धुलोले खानै नहुने हुन्छ, अरु दुःखका के कुरा गर्नु र’ स्थानीय डिल प्रसाद सापकोटाले भने ‘एकदुई दिन भए पो सहनु, २५ बर्ष भयो हिलो धुलोसँग पौडेजोरी खेलेको ।’ सुरुवातमा कृषि सडकको रुपमा निर्माण भएको सडक मध्यपहाडीको रेखाङ्कन भएपछि स्तरोन्नती भयो । मध्यपहाडी नामाकरण भएपछि कालोपत्रेका लागि काम थालेको झण्डै दश बर्ष बिते तर धुलो उस्तै छ ।

खाल्डै खाल्डा भएको सडकमा गाडी गुड्दा धुलोको मुस्लो निस्किन्छ । सडक वरपरका रुख बिरुवाका पातहरु समेत धुलाम्ये छन् । सडक फराकिलो बनाउन कतै पहाड खनिएको छ भने कतै माटो भरिएको छ । खाल्डा छल्न कतिपय गाडी सडकको छेउबाट गुड्छन् भने कतिपय कुनातिर । त्यसैले गाडी गुड्दा सडक वरपरको वातावरण धुलाम्मे हुन्छ ।

यो सडकमा नौ वर्षसम्म आधा पनि कलोपत्रेको काम सकिएको छैन् । राजमार्ग वरपरका सर्वसाधारण निसास्सिएका छन्, अझै कति वर्ष यस्तै उकुसमुकुसमा बिताउनुपर्ने हो थाहा छैन भन्छन् डिलप्रसाद । निर्माण कम्पनीको चरम लापरबाही मध्यपहाडी राजमार्गको बागलुङ सदरमुकाम खण्डमा देखेपछि यहाँका स्थानीय निरन्तर आन्दोलित छन् । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गको काम समयमै सम्पन्न नगर्ने बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ ।

१२ किलोमिटर सडक सम्झौता रद्द गरेको ठेक्कालाई पुन ठेक्का आव्हान गर्ने तयारीमा आयोजना रहेपनि ढिलाई भएको भन्दै स्थानीय आक्रोसित छन् । ‘सहनु पनि कती, अब त वार की पारको आन्दोलन थाल्छौं’ अर्का स्थानीय डिल प्रसाद कँडेल भन्छन् ‘हाम्रो गाउँको एउटा पुस्ता नै धुलोमा निस्सासिएर जीवन बिताउने भो ।’ पुनः ठेक्काको माग गर्दै स्थानीयले लोकमार्ग भएर आउने सवारीसाधन पटक–पटक ठप्प पार्दै आएका छन् । ठेक्का रद्द गरेर पुनः ठेक्काका लागि आयोजनाले दुई महिना अघिनै काम थालेपनि अर्थ मन्त्रालयमा फाइल रोकिएको आयोजना कार्यालयले जनाएको छ ।

मध्यपहाडी पुष्पलाल लोकमार्गअन्र्तगत बागलुङमा पर्ने १४२ किलोमिटरमध्ये जम्मा २५ किलोमिटर सडक खण्ड कालोपत्रे हुन बाँकी छ । समस्याग्रस्त जिल्ला सदरमुकामको उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २५ किमी सडकको जिम्मा पाएका दुई निर्माण कम्पनीमध्ये बिहुँ खण्डको कम्पनीसंग दुई महिना अघि ठेक्का सम्झौता रद्द गरिएको थियो ।

उपल्लाचौरदेखि १३ किमी पहिलो खण्डको ठेक्का सम्झौताको मिति सकिएको छ । रद्द भएपछि पुनः ठेक्काका लागि अर्थ मन्त्रालयमा पठाइएपनि ढिलाईएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् । दुई वर्षमा सक्नेगरी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले ठेक्का सम्झौता भएको आठ वर्षसम्म कालोपत्रेको काम नगर्दा बिहुँका स्थानीयले दबावमुलक काम गर्दै आएका छन् ।

हिउँदमा धुलोको मात्रै होईन बर्षातको समयमा हिलोको समस्या यो खण्डमा उस्तै छ । हिलाम्मे र धुलाम्य सडक भएर किसानहरु घाँस बोक्छन् । यो बाटो भएर विद्यालय जाने विद्यार्थीका दुःखको कुरै नगरौं । सडकको धुलो सहन नसकेको भन्दै स्थानीयले माघको २१ गतेदेखी सडकमा सवारी चल्न नदिने गरी धर्ना लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । काठेखोला गाउँपालिकानै आन्दोलनमा होमिएको छ ।

‘उपल्लो खण्डको छिटो ठेक्का लगाउने र तल्लो खण्डमा म्याद थपेर छिटो काम सक्न दबाव दिन हामस्ले आन्दोलननै गर्नुप¥यो’ गाउँपालिकाका उपाध्यक्ष तिलक थापाले भने ‘हाम्रा जनताले दुःख पाएको हामस्ले कतिन्जेल हेरेर बस्न सक्छौं र, आफैले गर्न सम्भव छैन्, दबावका लागि आन्दोलन थाल्ने भनेका छौं ।’ सडककै सकसका कारण यो आर्थिक बर्ष सुरु भएपछि बिहुँबाट २६ परिवार बसाई सरेका छन् । यहाँका किसानले पालेका पशुचौपायले धुलोकै कारण घाँस खाँदैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->