बागलुङ/ इमेज सहकारी बचत संघर्ष समितिले फरार रहेको ढोरपाटनका मेयर देवकुमार नेपालीको सम्पत्ति बिक्री गर्ने भन्दै गत माघ १२ गते सार्वजनिक सूचना निकाल्यो । सहकारीबाट पीडितहरुले नेपालीसम्पर्क विहिन भएपछि बागलुङ, गलकोट, बुर्तिबाङ र पोखरामा छुट्टाछुट्टै इमेज बचत पीडित संघर्ष समिति गठन गरी पीडित बचतकर्ताहरुले आफनो रकम फिर्ताका लागि इमेज बचत तथा ऋण सहकारीलाई ब्यूताउने भन्दै बागलुङमा माघ ६ गते र पोखरामा माघ १० गते विशेष साधारणसभा गरी नयाँ सञ्चालक समिति समेत गठन गरेका थिए ।
यो समितिले इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङ तथा पोखराका संस्थापक अध्यक्ष देवकुमार नेपाली र उनको श्रीमती छेला नेपालीको नाममा देशका विभिन्न भागमा रहेका सम्पत्तिको मूल्यांकनसमेत गरेर बिक्रीको लागि सूचना निकालेको थियो ।
संघर्ष समितिका संयोजक दिलबहादुर कार्कीका अनुसार फोनमार्फत केही व्यक्तिले नेपालीको सम्पत्ति खरिदमा चासो देखाएका छन । तर, प्रक्रियामा भने गइसकेको छैन ।
नेपाली दम्पत्तिको नाममा काठमाडांैमा ७५ करोड, पोखरामा ४५ करोड, बागलुङमा २५ करोड र ढोरपाटनमा ८० करोड बराबरको सम्पत्ति रहेको उल्लेख गर्दै बिक्रीका लागि सार्वजनिक सूचना जारी गरेको थियो ।
सम्पत्ति लिनको लागि २५ प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने, भौतिक संरचना ६ महिनाभित्र रजिष्ट्रेसन गर्नुपर्ने र बचतकर्ता तथा शेयर सदस्यको हकमा आफूले सहकारीमा जम्मा गरेको बचत प्रमाणका आधारमा सावाँब्याज रकम कट्टी गरिसकेपछि मात्र भुक्तानी सहुलियत प्राप्त हुने शर्तनामा राखिएका छन ।
इमेज सहकारी पीडितले आफ्नो सम्पत्ति बेच्न प्रक्रिया थालेको एक हप्तापछि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले भने एक हप्तापछि माघ १९ गते अर्को विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन ।
उनी पछिल्लो ९ महिनादेखि सम्पर्क विहीन छन । फरार भनिएका उनै नेपालीले माघ १९ गतेको मितिमा एक अपिल सार्वजनिक गर्दै आफू र श्रीमतीका नाममा रहेको सम्पूर्ण चलअचल सम्पत्ती सहकारीको नाममा गरिदिने प्रतिबद्धता दोहो¥याएका छन ।
गत जेठ ५ गतेदेखि सम्पर्कविहिन बनेका नेपालीले मंसिर ५ गते सामाजिक सञ्जालमार्फत् पीडितहरुको बचत फिर्ता गर्न आफ्नो सम्पत्ति बेच्न तयार रहेको जनाएका थिए ।
पुनः उनले सम्पूर्ण सम्पत्ती सहकारीका पीडितहरुलाई हस्तान्तरण गर्न तयार रहेको भन्दै सहज वातावरण सिर्जना गरिदिन आग्रह गरेका छन भने श्रीमती र आफ्नो नाममा रहेका भौतिक संरचनाको विवरण कित्ता नं. सहित सार्वजनिक गरेका छन ।
‘हाम्रो नियतका कारण होइन, वित्तीय क्षेत्रमा आएको संकटका कारण सहकारीमा समस्या आएको हो । सहकारीमा आएको समस्याका कारण हाम्रो नियतमा समेत शंका उत्पन्न भएको छ । सहकारीमा बचत गरेका सदस्यहरुको बचत रकम फिर्ता गर्ने कुरामा आज पनि हामी उत्तिकै प्रतिवद्ध छौ, संवेदनशील छाँै,’ उनले लेखेका छन ।
उनले घरजग्गाहरु विक्री गरी बैंकको ऋण र सदस्य बचतकर्ताहरुको बचत फिर्ता गर्ने कुरामा आफुहरुलाई सहयोग गर्नका लागि पीडित शेयर सदस्य बचतकर्ताहरु, सहकारी विभाग, सहकारी रजिष्ट्रारको कार्यालय पोखरा, गण्डकी प्रदेश सरकार, सम्पूर्ण स्थानीय तहहरु, जिल्ला प्रशासन कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय बागलुङ, अदालत, राजनीतिक दलहरु, नागरिक समाज, सहकारी अभियानकर्मीहरुसँग अपिल गरेका छन् ।





